logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

पाँचकुमार मावि हजारबिघामा एकैदिन ५ कार्यक्रम सम्पन्न


  • उज्यालो अभियान

हजारबिघा, ३२ असार – सर्लाहीको हरिपुर नगरपालिका–१, ले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट अङ्क प्राप्त गर्ने पाँच जना विद्यार्थीलाई सम्मान गरेको छ ।

केही साताअघि प्रकाशित एसइईको नतिजामा ३.४ जिपिए भन्दा माथि प्राप्त गर्ने पाँचकुमार रामऔतार लक्षिया माध्यमिक विद्यालय हजारबिघाका पाँच जना विद्यार्थीलाई सम्मान गरिएको हो । पाँच जना विद्यार्थीलाई वडा कार्यालयले जनही १० हजार रुपियाँ नगदसहित सम्मान गरेको विद्यालयका शिक्षक टेकबहादुर थापा (अर्जुन) ले जानकारी दिए ।

एसइईमा ३.४ भन्दा माथिको जिपिए प्राप्त गर्ने तीर्थराज श्रेष्ठ, सङ्घर्ष गौतम, शिव यादव, बजरङ्गी महतो र सङ्गम रायलाई हरिपुरका नगरप्रमुख गोपाल पजियार, वडाध्यक्ष नानीबाबु थापा, शिक्षा शाखा प्रमुख नागेश्वर रायलगायत भएर पुरस्कार हस्तान्तरण गरेका छन् । कार्यक्रममा हाल वैदेशिक रोजगारमा रहेका विद्यालयका पूर्व विद्यार्थी शुक्रराज खड्काले आमा धनकुमारी खड्कामार्फत विद्यालयमा कक्षा १ देखि १० सम्म अध्ययनरत् हरेक कक्षाका १० जना विद्यार्थीलाई जनही एक दर्जन कपी, १० वटा डटपेन प्रदान गरेका छन् ।

पुरस्कार वितरण कार्यक्रमकै अवसरमा विद्यालयमा वडा कार्यालयले प्रदान गरेको पाँच लाख रुपियाँबाट निर्मित दुईवटा सर्टर वाला भवन र नगरपालिकाले विनियोजन गरेको १० लाख रुपियाँबाट निर्माण गरिएको पोषण घरको उद्घाटन तथा नगरप्रमुख, वडाध्यक्ष र शिक्षा शाखा प्रमुखलाई सम्मान समेत गरिएको छ ।

कार्यक्रममा जग्गादाता जगन्नाथ साह, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर गोले, शिक्षक अभिभावक सङ्घका अध्यक्ष शङ्कर थापा, प्रधानाध्यापक नारायणप्रसाद गौतम, वडा सदस्य, विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक, विद्यार्थी, अभिभावकलगायतको उपस्थिति रहेको थियो ।