logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

प्याराफिटसहितको खेल मैदान तयार


  • उज्यालो अभियान

रोशन न्यौपाने/नवलपुर, ३१ असार – सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा ५०० जना दर्शक अट्ने प्याराफिटसहितको खेल मैदान तयार पारिएको छ ।

जिवेश्वर युवा क्लब नवलपुरले ५ वर्षमा विभिन्न निकायबाट प्राप्त बजेटले व्यवस्थित प्याराफिटसहितको रंगशाला तयार पारेको हो । चालू आर्थिक वर्ष २०८१÷८२ मा मधेश प्रदेश सरकारले प्रदान गरेको ५० लाख रुपैयाँबाट उल्लेख्य काम हुँदा प्याराफिटसहितका संरचना तयार भएसँगै खेल मैदान राष्ट्रियस्तरकै फुटबल प्रतियोगिता आयोजना गर्न योग्य भएको जिवेश्वर युवा क्लबका अध्यक्ष दीपेन्द्र बुढाथोकीले जानकारी िदए ।

बुढाथोकीका अनुसार यो वर्ष खेल मैदान तयार पार्नका लागि लालबन्दी १ को वडा कार्यालयले समेत ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सर्लाही क्षेत्र नं. १ का प्रदेशसभा सदस्य बेची लुंगेलीले सुरुमा प्रदान गरेको १० लाख रुपैयाँबाट काम सुरु गरेर अहिलेसम्म ९५ लाख रुपैयाँ खर्चिएर खेल मैदान मिलाउने, जाली हाल्ने, प्याराफिट निर्माण गर्नेलगायतका काम सम्पन्न गरिएको क्लबका अध्यक्ष बुढाथोकीको भनाइ छ । प्याराफिटसहितको खेल मैदान तयार भएसँगै यो वर्ष मधेश प्रदेशस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने तयारी गरिएको क्लबका अध्यक्ष बुढाथोकीले उज्यालो अभियानलाई सुनाए ।

प्रतियोगिताका लागि मधेश प्रदेश सरकारसँग बजेट माग गर्न जाने तयारी गरिएको उहाँको भनाइ छ । आफ्नै ठाउँमा आकर्षक फुटबल मैदान तयार भएपछि स्थानीय फुटबल प्रेमी खुसी देखिन्छन् । फुटबल प्रशिक्षक अर्जुन चौधरीले यस भेगकै नमूनाका रुपमा म्याराफिटसहितको फुटबल मैदान तयार हुँदा खुसी लागेको बताए ।

नवलपुरको खेल मैदानमा यसअघि गाउँघरमा हुने फुटबल प्रतियोगिता र नगरपालिकाले सञ्चालन गर्ने राष्ट्रपति रनिङशिल्ड खेलकुद मात्रै आयोजना भएका थिए ।

मधेश प्रदेश सभा सदस्य बेची लुङ्गेलीले आफूले १० लाख रुपैयाँ प्रदान गरेर काम सुरु गरेको खेल मैदानमा प्याराफिटसहित राष्ट्रिय स्तरकै प्रतियोगिता आयोजना गर्न योग्य भएपछि खुसी लागेको बताइन् ।