logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

पर्याप्त वर्षा नहुँदा भर्खर ४० प्रतिसतको हाराहारीमा रोपाइँ


  • उज्यालो अभियान

लालबन्दी, ३१ असार – पर्याप्त वर्षा हुन नसक्दा सर्लाहीमा धान रोपाइँ प्रभावित बनेको छ ।

सिँचाई सुविधा रहेको क्षेत्रमा धमाधम रोपाइँ भइरहे पनि आकाशे पानीको भर रहेको क्षेत्रमा कतै धानको ब्याड सुक्ने त कतै ब्याड छिप्पिएर काम नलाग्ने हुन थालेको किसानले गुनासो गरेका छन् । असार सक्किने लाग्दा पनि यहाँको आधा भन्दा बढी खेत बाँझै देखिन्छ ।

कृषि ज्ञान केन्द्र सर्लाहीका अनुसार जिल्लामा करिव ४० प्रतिसतको हाराहारीमा धान रोपाइँ भएको छ । कार्यालयका बाली विकास अधिकृत कविन्द्रसिंह ठगुन्नाका अनुसार पालिकाका कृषि प्राविधिकहरुसँग लिइएको विवरण अनुसार जिल्लाभर समग्रमा भर्खर ४० प्रतिसतको हाराहारीमा धान रोपाइँ भएको हो ।

कुलो र नहर चल्ने तथा स्यालो ट्यूबेल रहेको क्षेत्रमा रोपाइँले प्रगति लिए पनि आकाशे वर्षाको भर रहेको क्षेत्रमा पानी नपरेर समस्या भइरहेको ठगुन्नाले बताए । “बागमती सिँचाईको पानी लाग्ने पश्चिमी क्षेत्रको अधिकांश फाँटमा रोपाइँ जारी छ,” बाल विकास अधिकृत ठगुन्नाले उज्यालो अभियानसँग भने “पानी नपरेकाले उत्तरी र पूर्वी भेगमा भने रोपाइँले प्रगति लिन सकेको छैन् ।”

बेलैमा वर्षा हुँदा सर्लाहीको दक्षिण–पूर्वी भेगको ब्रह्मपुरी, चन्द्रनगर, पर्सालगायत क्षेत्रमा गत वर्ष सुरुमै धान रोपाइँ भएको थियो । यो वर्ष जिल्लाको पूर्वी भेगका खेत बाँझै रहेको किसानले गुनासो गरेका छन् ।

पर्याप्त आकाशे वर्षा होला र धान रोपाइँ सुरु गरौँला भन्ने आशमा बसेको ब्रह्मपुरी गाउँपालिका–७, का सिकान बिकाउ राय यादवले बताए । “केही किसानले दमकल लगाएर रोपेको धान पनि धाजा फाटेर सुकिरहेको छ, यादवले भने, “अधिकांश किसान त पर्याप्त वर्षा नहुन्जेल रोपाइँ नगर्ने भनेरै बसेका छौँ ।”

कृषि ज्ञान केन्द्र सर्लाहीका अनुसार सर्लाहीमा ४५ हजार हेक्टर जग्गामा धान खेती हुने गरेको छ । किसानले अहिले धान रोपाइँकै समयमा रासायनिक मलको अभाव झेल्नु परेको किसानले गुनासो गरेका छन् ।