मलंगवा, २९ असार – जनता समाजवादी पार्टी (जसपा) ले आज दोस्रो दिन पनि सर्लाही सदरमुकाम मलंगवामा यातायात र बजार बन्द गराएको छ ।
पार्टीका मधेश प्रदेश अध्यक्ष अशोककुमार यादवविरुद्ध झुठो मुद्दा दायर गरिएको भन्दै जसपा सर्लाहीले हिजो र आज दुई दिन मलंगवामा चक्काजाम र बजार बन्दको कार्यक्रम शुक्रबार नै तय गरेको थियो । आज दोस्रो दिन जसपाका कार्यकर्ताले नेता यादवको गाउँ कविलासीस्थित सलेमपुर चोक र मलंगवा बजारमा भेला भएर प्रदर्शन गरिरहेका छन् ।
जसपाको आन्दोलनले मलंगवाका पसल, व्यवसाय ठप्प छन् । बन्दका कारण नवलपुर–मलंगवा सडक खण्डमा यातायात प्रभावित बनेको छ । मोटरसाइकल निर्वाधरुपमा संचालन भइरहेका छन् । कतिपय चार पांग्रे सवारी साधन पनि वैकल्पिक बाटो भएर संचालनमा रहेका प्रहरीेले जनाएको छ ।
पूर्वाधार विकास कार्यालय मलंगवामा अनियमितता हुने गरेको र सो कार्यालयमा प्रहरी तैनाथ गरेर भ्रष्टाचारलाई प्रसय दिएको भन्दै सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्कासँग असार १९ गते राति टेलिफोनमा कुरा गर्दा जसपा मधेश प्रदेश अध्यक्ष यादव गालीगलौचमा उत्रिएका थिए । गालीगलौच गरेको भोलीपल्टै यादवविरुद्ध सर्लाही जिल्ला अदालतले आपराधिक उपद्रो कसुरमा पक्राउ पुर्जी जारी गरेपछि यादव फरार छन् ।
भारतीय प्रहरीसँग समेत समन्वय गरी खोजी गर्दा प्रहरीले यादवलाई पक्राउ गर्न सकेको छैन् । यादवको पार्टी र उसका कार्यकर्ताले एसपी खड्काले समेत यादवलाई अपशब्द प्रयोग गरेकाले उनलाई पनि कारवाही हुनुपर्ने माग गरिरहेका छन् ।
यसैबिच स्रोतका अनुसार पक्राउ पुर्जी जारी भएपछि लुकिछिपी बस्दै आउनुभएका जसपा प्रदेश अध्यक्ष यादव आफै सर्लाही जिल्ला अदालतमा उपस्थित हुने तयारी गरिरहेको बुझिएको छ ।
आन्दोलनकै बिच कार्यकर्ताको नाराबाजीसहित यादवलाई अदालतमा उपस्थित गराउने आफूहरुको तयारी रहेको जसपा सर्लाहीका एक नेताले आज बिहान उज्यालो अभियानसँग बताएका छन् ।