मलंगवा, २८ असार – जिल्ला सदरमुकाम मलंगवामा आज बिहानैदेखि यातायात र बजार बन्द हुँदा जनजीवन प्रभावित बनेको छ ।
जनता समाजवादी पार्टी (जसपा) सर्लाहीले पार्टीका मधेश प्रदेश अध्यक्ष अशोककुमार यादवमाथि झुठो मुद्दा दायर गरिएको भन्दै मलंगवामा यातायात र बजार बन्द गराएको हो । जसपा सर्लाहीले हिजो नै प्रेस विज्ञप्ती जारी गरी आज र भोली दुई दिन मलंगवा बजार र यातायात ठप्प पार्ने जानकारी दिएको थियो । उसले गएसाँझ मसाल जुलुस प्रदर्शन गरेको थियो ।
विज्ञप्तीमा जसपा सर्लाहीका अध्यक्ष शम्भुप्रसाद यादवले जिल्ला प्रहरी प्रमुखले सर्वसाधारण र पार्टीका मधेश अध्यक्ष यादवमाथि लगाएको झुठो मुद्दा र जिल्लाका विभिन्न कार्यालयमा भइरहेको भ्रष्टाचार, लुटतन्त्र र मनोमानीको विरोध स्वरुप यातायात र बजार बन्द गरिएको उल्लेख गरेका छन् ।
असार १९ गते राति जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख (एसपी) योगेन्द्रकुमार खड्कासँग टेलिफोन कुराकानीमा गालीगलौच भएपछि जसपा मधेश प्रदेशका अध्यक्ष यादव फरार छन् । सर्लाही जिल्ला अदालतले यादवविरुद्ध आपराधिक उपद्रो कसुरमा पक्राउ गर्न असार २० गते नै अनुमति दिएको थियो ।
यादवले आफ्नो सामाजिक सन्जालमा विभिन्न भिडियो पोष्ट गर्ने र संचारमाध्यमलाई अन्तर्वार्ता दिने काम भने गरिरहेकै छन् ।