गठबन्धनद्वारा बुधबार दिउँसो सदरमुकाम मलंगवामा निकालिएको र्याली । (तस्बिर : उज्यालो अभियान)
मलंगवा, २६ असार – संघीय गणतान्त्रिक गठबन्धनको आयोजनामा सर्लाही सदरमुकाम मलंगवाबाट संयुक्त जनजागरण अभियान प्रारम्भ गरिएको छ ।
बुधबार दिउँसो सदरमुकाम मलंगवास्थित नारायण धर्मशालामा आयोजित कार्यक्रमबीच जनजागरण अभियान प्रारम्भ गरिएको हो । गठबन्धनका संयोजक एवं नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष पूर्व गृह राज्य मन्त्री मोहम्मद् रिजवान अन्सारी, बहुजन एकता पार्टीका अध्यक्ष हरिनन्दन अम्बेडकर, जनजागृति पार्टीका अध्यक्ष ध्रुवलाल निषाद र नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतो लगायतले उत्पीडित वर्गको अधिकार सुनिश्चित गर्न चारवटै पार्टीको साझा रणनीति र ऐक्यबद्धता प्रस्तुत गरेका थिए ।
उत्पीडित जनताको नाममा खोलिएका धेरै पार्टी र गठबन्धनहरूले पटक-पटक धोका दिएको र मधेसी जनताको आन्दोलनलाई सत्ता प्राप्तिको सिँडीको रूपमा प्रयोग गर्दै आएको आरोप लगाउँदै नेताहरुले वर्तमान निर्वाचन प्रणाली उत्पीडित जनताको विपक्षमा रहेको भन्दै पूर्ण समानुपातिक प्रणालीको खाका अगाडि सारेका छन् । साथै, जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र अधिकार सम्पन्न प्रदेशहरूको संरचना निर्माण गर्नुपर्ने मागलाई पनि उनिहरुले जोड दिए ।
कार्यक्रममा नेपाल संघीय समाजवादी पार्टीकी संसदीय दलकी नेता तथा मधेश प्रदेश सरकारकी पूर्व गृह, सञ्चार तथा कानुन मन्त्री बिमला अन्सारी लगायतले आफ्ना विचार व्यक्त गरेका थिए । कार्यक्रमअन्तर्गत सदरमुकाम मलंगवामा राष्ट्रिय झण्डा, पार्टी झण्डा, प्लेकार्ड र नारासहितको र्याली समेत गरिएको थियो ।