हरिवन, २१ असार – सर्लाहीको हरिवनमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाले शहिद इगल स्मृति नमूना प्राथमिक विद्यालय लालबन्दीलाई आर्थिक सहयोग गरेको छ ।
१०३ औँ अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा हरिवन नगरपालिका–११ मा केन्द्रीय कार्यालय रहेको संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत लालबन्दी नगरपालिका–७, डाँडाटोलमा रहेको विद्यालयलाई आज २० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो । विद्यालयमा भौतिक सामग्री निर्माणका लागि उक्त रकम प्रदान गरिएको संस्थाका व्यवस्थापक रविन्द्र रानाले जानकारी दिए ।
संस्थाका अध्यक्ष केशवप्रसाद ढकालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेशप्रसाद पौडेललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुने । आयस्रोत न्युन रहेको र अधिकांश डोम, चमार र मुसहरसहित दलित समुदायको बालबालिका अध्ययन गर्ने विद्यालयलाई थोरै भए पनि राहत मिलेको व्यवस्थापन समितिका अध्यक्ष पौडेलले बताए ।
सगुन सहकारीले यसअघि पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत हरिवनका विभिन्न विद्यालय र सार्वजनिक स्थलमा पङ्खा, डस्टविनलगायतका सामग्री उपलब्ध गराएको थियो ।