logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

अशोक यादवविरुद्ध यसअघि पनि दर्ता भएका थिए ७ मुद्दा


  • उज्यालो अभियान

जसपा मधेश अध्यक्ष अशोककुमार यादव (बायाँ) र जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्रकुमार खड्का ।

मलंगवा, २१ असार – पक्राउ पुर्जी जारी भएपछि फरार रहेका जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष अशोककुमार यादवविरुद्ध यसअघि पनि सातवटा मुद्दा दायर भएको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले यो भन्दा पहिले यादवले घटाएका सातवटा घटना विवरणसहितको मुद्दाबारे शनिबार संचारकर्मीलाई जानकारी गराएको हो । सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले यादवविरुद्ध यसअघि अभद्र व्यवहारमा पाँच पटक, चोरीमा एक पटक र ज्यान मार्ने उद्योगमा एक पटक मुद्दा दायर भएर कारवाही भएको जानकारी दिए ।

यादवविरुद्ध २०५७ पुस ८ गते कृषि कार्यालय मलङ्गवाका कर्मचारीमाथि अभद्र व्यवहार गरेको, २०६६ असोज १० गते शिक्षा कार्यालय मलङ्गवाका कर्मचारीको मोटरसाइकल तोडफोड गरी नगद लुटपाट गरेको, २०७२ पुस ५ गते जिल्ला प्रशासन कार्यालय मलङ्गवामा तोडफोड गरेको र सोही वर्ष फागुनमा प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा मुद्दा दायर भएर कारवाही भएको थियो ।

त्यसैगरी २०७३ साउन १३ गते सिँचाई कार्यालय मलङ्गवाका कर्मचारीलाई गालीगलौच गरेको, २०७३ मङ्सिर २९ गते सलेमपुरमा प्रहरीमाथि अभद्र व्यवहार गरेको र २०७७ जेठ २७ गते चक्रघट्टा गाउँपालिकामा जग्गाको विषयमा एक व्यक्तिलाई ज्यान मार्ने किसिमले कुटपीट गरेको आरोपमा मुद्दा चलेको प्रहरीले जनाएको छ । यिनै यादव बिहीबार राति सर्लाहीका प्रहरी प्रमुख (एसपी) योगेन्द्रकुमार खड्कासँग गालीगलौचमा उत्रिएपछि सर्लाही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

कविलासी नगरपालिका–१०, सलेमपुर निवासी पूर्व मधेश प्रदेशसभा सदस्य यादवविरुद्ध पक्राउ पुर्जी जारी भए पनि शनिबार साँझसम्म फरार छन् । उनी भारततर्फ गएको हुनसक्ने आशङ्का गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राईले यादवलाई पक्राउ गर्न सुराकीसहितको प्रहरी परिचालन गरिएको उज्यालो अभियानसँग बताए । यादव सलेमपुरस्थित घरमा फेला नपरेका प्रहरीले जनाएको छ ।

जसपाका प्रदेश अध्यक्ष यादवले मलङ्गवास्थित पूर्वाधार विकास कार्यालयमा व्यापक भ्रष्टाचार र अनियमितता भइरहेको र त्यस्तो कार्यालयमा उल्टै प्रहरी तैनाथ गरेर भ्रष्ट कर्मचारीलाई सुरक्षा दिएको भन्दै एसपी खड्कासँग असन्तुष्टि व्यक्ति गरेका छन् । असन्तुष्टी व्यक्त गर्नेक्रममै यादव र एसपीबिच अपशब्द प्रयोग गर्दै भनाभन भएको हो ।

जसपाका नेता कार्यकर्ता र प्रदेश अध्यक्ष यादवका समर्थकले एसपी खड्का पनि गालीगलौचमा उत्रिएकाले उनीमाथि पनि कारवाही हुनुपर्ने माग गरेका छन् ।

राति राति चेक काट्ने, योजना भुक्तानीमा कमिसन लिने र नागरिकलाई हैरानी दिने पूर्वाधार विकास कार्यालय मलङ्गवाको अवस्थाबारे कहिँकतै चर्चा र चासो व्यक्त नभएको भन्दै जसपाका नेता, कार्यकर्ताले असन्तुष्टी व्यक्त गरिरहेका छन् ।