हरिवन, ११ असार – देशभरमा सबैभन्दा बढी २० स्थानीय तह रहेको सर्लाहीमा १९ स्थनीय तहले समयमै आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

सीमावर्ती क्षेत्रको पर्सा गाउँपालिका भने यस वर्ष बेलैमा नीति, कार्यक्रम ल्याउन असफल भएको छ । पर्सा गाउँपालिकाका अध्यक्ष धीरेन्द्र यादव (विस्पत) ले गाउँ सभाका लागि सहमतीको वातावरण निर्माण गर्न लागिपरेको जानकारी दिए ।

उपाध्यक्ष र केही वडाध्यक्षले बजेट बाँडफाँडको विषयमा असन्तुष्टि जनाइरहेकाले सहमतीको प्रयास गरिरहेको अध्यक्ष यादवको भनाइ छ । आफूसँग बहुमत गाउँ सभा सदस्य भए पनि सहमतीमै अघि बढ्ने गरी समन्वय गरिरहेको अध्यक्ष यादवले उज्यालो अभियानसँग बताए ।

सर्लाहीमा मङ्गलबार लालबन्दी, कविलासी, मलङ्गवा र हरिवन नगरपालिकाले आ–आफ्नो नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । ब्रह्मपुरी गाउँपालिकाले पनि मङ्गलबार नै नीति तथा कार्यक्रम प्रस्तुत गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र राउतले बताए ।

असार ८ गते नगर सभा प्रारम्भ गरेको लालबन्दी नगरपालिकाले मङ्गलबार नीति तथा कार्यक्रम पारित नै गरिसकेको नगरप्रमुख वासुदेव अधिकारीले जानकारी दिए । नगर उपप्रमुख कल्पनामाया पाख्रिनले प्रस्तुत गरेको एक अर्ब ५० करोड ४० लाख ४५ हजार २२७ रुपियाँ बराबरको बजेटमा अध्ययन र छलफल गर्न १६ दिनको समय दिएर असार २६ गते बस्ने बैठकबाट अनुमोदन गर्ने तयारी रहेको लालबन्दी नगरपालिकाले जनायो ।
चालू आर्थिक वर्षका लागि गत वर्ष समयमै बजेट ल्याउन नसकेका विष्णु गाउँपालिकासहितका केही पालिकाले यो वर्ष समयमै बजेट प्रस्तुत गर्न सफल भएका छन् । सँधै लफडा सिर्जना हुने हरिपूर्वा नगरपालिका र चन्द्रनगर गाउँपालिकामा अघिल्लो वर्षदेखि समयमै बजेट आउन थालेको छ ।
केही नगरसभा सदस्यको विरोधकाबिच हरिपूर्वा र कविलासी नगरपालिकाले बेलैमा बजेट प्रस्तुत गरेका छन् । गत वर्ष ढिलो गरी बजेट ल्याएको हरिवन नगरपालिकाले पनि यो वर्ष असार १० गतेभित्रै नीति तथा कार्यक्रम प्रस्तुत गरेर सकारात्मक सन्देश दिएको छ ।
याेपनि पढ्नाेस्
आज एकैदिन ९ पालिकाले ल्याए नीति तथा कार्यक्रम, बाँकी ६ पालिकामा भोली