कार्यक्रममा साेहजनका फाइदाहरु सार्बजनिक गर्दै प्रमुख अतिथि, विशिष्ट अतिथि एवं अतिथिहरु ।
चन्द्रनगर, ११ असार – चन्द्रनगर गाउँपालिकामा साेहजन (माेरिङ्गा) वृक्षाराेपण अभियान शुभारम्भ गरिएकाे छ । बुधबार गाैचरणमा आयाेजित एक कार्यक्रमबीच मधेश प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीकाे प्रमुख आतिथ्यता एवं अर्थ मन्त्री सुनिल कुमार यादवकाे विशिष्ट आथित्यतामा पालिकाले `चन्द्रनगर साेहजन क्रान्ति अभियान’ शुभारम्भ गरेकाे हाे ।

कार्यक्रममा बाेल्दै मधेश प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री । (तस्बिर : उज्यालाे अभियान)
कार्यक्रममा बाेल्दै भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री सिंह र अर्थ मन्त्री यादव दुवैजनाले चन्द्रनगर गाउँपालिकाकाे साेहजन वृक्षाराेपण अभियानकाे खुलेर प्रशंसा गरे । प्रदेश सरकारले समेत बहुपयाेगि साेहजन खेती विस्तारलाई उच्च प्राथमिकता दिएकाे उनिहरुकाे भनाई थियाे ।
अभियान अन्तर्गत पालिकाभित्र ८३ हजार साेहजनका विरुवा वितरण एवं राेपण गर्ने याेजना रहेकाे पालिकाले जनाएकाे छ । कार्यक्रममा बाेल्दै चन्द्रनगरका अध्यक्ष राजकुमार महताेले बहुपयाेगि साेहजन खेतीका लागि सम्पूर्णमा आग्रह गरे ।

महताेका अनुसार फूलजाेर-ईश्वरपुर-त्रिभुवननगर सडकखण्ड अन्तर्गत पालिकाभित्र पर्ने ६ किलाेमिटर दायाबाया १२ सय विरुवा राेपिने छ । त्यस्तै व्यवसायिक खेती गर्न चाहने कृषकलाई जग्गाकाे क्षेत्रफलकाे आधारमा आवश्यक कागजात लिएर साेहजनका विरुवा नि:शुल्क उपलब्ध गराइने अध्यक्ष महताेले जानकारी दिए । त्यस्तै करेसाबारीमा आफ्नाे प्रयाेगका लागि मात्रै राेप्न चाहने पालिकाबासीलाई समेत विरुवा उपलब्ध गराइने छ ।

९२ किसिमका पाेषक तत्व पाइने मात्र नभई ३०० भन्दा बढी राेगकाे उपचार र राेकथाममा समेत साेहजन उपयाेगि रहने अध्यक्ष महताेकाे दाबी थियाे । साेहजनकाे फलमात्र नभई पात, डाँठ लगायत सम्पूर्ण रुख नै मानव र पशुपंक्षीलाइ बहुउपयाेगि रहने महताेले जानकारी दिए । अध्यक्ष महताेका अनुसार पालिकाले पाेषण, स्वास्थ्य, समृद्धि, साैन्दर्य र जलवायु परिवर्तन प्रतिकार्य एवं वातावरण संरक्षणमा टेवा पुर्याउने लक्ष्यसहित साेहजन राेपण अभियान सूरु गरेकाे हाे ।

बहुपयाेगि साेहजन राेपण अभियानकाे विराेध गरेकाे देखेर आफू अचम्मित बनेकाे समेत अध्यक्ष महताेकाे भनाई थियाे । त्यस्तै प्रदेश सरकारका मन्त्रिद्वय क्षेत्री र यादवले पनि यति राम्राे अभियानकाे विराेध गर्नु भनेकाे हाँस्यास्पद् रहेकाे विचार व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेश कुमार यादव, वडाध्यक्ष सहित जनप्रतिनिधिहरु, विद्यार्थीहरु, स्वास्थ्य स्वयंसेविकाहरु, पालिकाबासीहरुकाे उल्लेख्य उपस्थिती रहेकाे थियाे ।