हरिवन, ०५ असार – सर्लाहीको हरिवनस्थित चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीमा लामो समयदेखि रिक्त रहेको क्याम्पस प्रमुख नियुक्तिमा चलखेल भइरहेको भन्दै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले आशंका व्यक्त गरेको छ ।
क्याम्पसको स्ववियु कार्य समितिले आज व्यवस्थापन समितिका अध्यक्षलाई पत्र लेख्दै क्याम्पस प्रमुख नियुक्तिमा राजनीतिक हस्तक्षेप र अपारदर्शिता भइरहेको भन्दै आपत्ति जनाएको हो । विज्ञ सम्मेलित समितिले दिएको नामावलीमा केरमेट गर्ने र नियुक्तिको प्रक्रिया सुरु भएपछि पनि सहमतीको नाममा चलखेल भइरहेको भन्दै क्याम्पसको स्ववियु समितिले आपत्ति प्रकट गरेको हो ।
यस्तो कार्यमा क्याम्पस व्यवस्थापन समितिकै केही पदाधिकारी र उच्च तहका भनिएका जनप्रतिनिधिको समेत संलग्नता रहेको स्ववियुले आरोप लगाएको छ । स्ववियुका सभापति हिमाल घिमिरे, उपसभापति मो. समिर, सचिव रोहन उप्रेती, सह–सचिव रोहन भट्टराई, कोषाध्यक्ष स्मृति श्रेष्ठले हस्ताक्षर गरी क्याम्पस व्यवस्थापन समितिका अध्यक्षलाई लेखेको पत्रमा २ दिनभित्र पारदर्शी र विज्ञ समितिको सिफारिस अनुसार क्याम्पस प्रमुख नियुक्तिको निर्णय नभए त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार संचालक समिति नै हुने उल्लेख गरिएको छ ।
स्ववियुले उक्त पत्रमा क्याम्पस प्रमुखको नियुक्तिमा ढिलाई हुँदा परीक्षा संचालन, पठनपाठन, प्रशासनिक निर्णय र शैक्षिक क्रियाकलापमा प्रत्यक्ष प्रभाव परिरहेको भन्दै ध्यानाकर्षण समेत गराएको छ ।