logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

वन मुद्दामा मेयर थापा ५० लाख धरौटी बुझाएर रिहा


  • उज्यालो अभियान

बागमती, ०२ असार – सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगरप्रमुख भरतकुमार थापा ५० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।

डिभिजन वन कार्यालय सर्लाहीले मेयर थापासहित ६ जनाविरुद्ध गएको बैशाख ११ गते सर्लाही जिल्ला अदालतमा ‘वन अतिक्रमण, ताल निर्माण, ढुंगा गिट्टी, बालुवा, माटो उत्खनन् गरी हानी नोक्सानी गरेको’ शिर्षकमा मुद्दा दायर गरेको थियो । सागरनाथ वन विकास परियोजनाको मातहतमा पर्ने वनको जग्गा अतिक्रमण गरेर बागमती माछा पोखरी (भरत ताल) निर्माण गरेको भन्दै मुद्दा दायर भएपछि फरार रहेका निलम्बित मेयर थापा आफै हिजो सर्लाही जिल्ला अदालतमा हाजिर भएका थिए ।

अदालतमा उपस्थित भए लगत्तै न्यायाधीश जीवनकुमार भण्डारीको इजलाशमा भएको थुनथेक बहसपछि थापालाई ५० लाख रुपियाँ धरौटी लिएर साधारण तारेखमा छाड्न आदेश भएको सर्लाही जिल्ला अदालतका सूचना अधिकारी सिकिन्दर कापरले उज्यालो अभियानलाई जानकारी दिए । हिजै ५० लाख रुपैयाँ धरौटी बुझाएर थापा रिहा भएका हुन् ।

अदालतका सूचना अधिकारी कापरका अनुसार यो मुद्दामा अरु ५ जना अभियुक्त फरार नै रहेका छन् । बागमती नगरपालिकाकी निलम्बित उपप्रमुख लीलाकुमारी मोक्तान, नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत बिमलकुमार पोखरेल, तत्कालिन लेखा अधिकृत विश्वराज पोखरेल, इन्जिनियर सागर पौडेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालिन प्रमुख मेथुर चोधरी फरार रहेका छन् ।

डिभिजन वन कार्यालय सर्लाहीले निलम्बित नगरप्रमुख थापासहित फरार रहेका ६ जनाविरुद्ध १ अर्व ४९ करोड ३९ लाख ४३ हजार ३३७ रुपियाँ ४५ पैसा बिगो दावीसहित मुद्दा दर्ता गराएको थियो ।

वन कार्यालयले दायर गरेको मुद्दामा धरौटी बुझाएर छुटेपनि निलम्बित नगरप्रमुख थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार सम्वन्धी २ वटा मुद्दा यसअघि नै दायर गरेको छ ।

सो मुद्दामा विशेष अदालतले गएको बैशाख ७ गते अख्तियारलाई थप प्रमाण जुटाउन आदेश दिएको थियो ।