लालबन्दी, ०१ असार – भिन्डी बिक्री हुन छाडेपछि सर्लाहीका किसान मारमा परेका छन् ।
यहाँको बजारमा भिन्डी प्रतिकेजी पाँच रुपियाँमा समेत बिक्री हुन छाडेको किसानको भनाई छ । चन्द्रनगर गाउँपालिका–२, बबरगन्जका किसान हरिप्रसाद महतोले केही दिनदेखि भिन्डी मुस्किलले प्रतिकेजी दुईदेखि पाँच रुपियाँसम्ममा बिक्री गरिरहेको जानकारी दिए ।
मोटरसाइकलमा हालेर भिन्डी बिक्री गर्न बबरगन्जदेखि लालबन्दी बजारसम्म ल्याउँदा पेट्रोलको खर्चधरी नउठ्ने महतोले गुनासो गरेका छन् । १० कठ्ठा खेतमा भिन्डी लगाएका महतोले सुरुमा प्रतिकेजी २० रुपियाँसम्ममा बिक्री गरेको भए पनि अहिले दुईदेखि पाँच रुपियाँ भाऊ भएपछि मार परेको गुनासो गरेका छन् ।
सर्लाहीमा जिल्लाभरका किसानले लालबन्दी थोक तरकारी बजार डुमडुमेमा ल्याएर तरकारी बिक्री गर्ने गरेका छन् । ईश्वरपुर नगरपालिका–१०, बेलामा व्यावसायिक तरकारी खेती गर्दै आएका किसान दयाराम कुशवाहाले बोडीपछि अहिले भिन्डी बिक्री हुन छाडेको जानकारी दिए ।
चर्को घाममा महँगो विषादी र मल प्रयोग गरेर उत्पादन गरेको तरकारीले भाऊ नपाउँदा जाँगर नै हराएको कुशवाहाको भनाई छ । भिन्डी बिक्री नभएपछि बिहीबार बिहान लालबन्दीमा केही किसानले बजारमै तरकारी फालेर नाराबाजी गरेका थिए ।
लालबन्दी नगरपालिका–११, हीरापुरका किसान सिकिन्द्र महतोले भिन्डी बिक्री नभएपछि बजारमै फालेर घर फर्किएको बताए । आफूले त्यही दिन नै खेतको भिन्डी जोती सकेको महतोले बताएका छन् ।
लालबन्दी कृषि थोक तरकारी बजारका अध्यक्ष प्रमोद थपलियाले अहिले बजारको माग भन्दा बढी भिन्डी उत्पादन भएकाले बिक्री हुन नसकेको बताए । सर्लाहीबाट तरकारी निकासी हुने काठमाडौं, पोखरालगायतका ठूला बजारमा निर्यात नै नहुँदा स्थानीय बजारमा भिन्डी बिक्री हुन नसकेको थपलियाको भनाई छ ।
तरकारीको हब् मानिने चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले यहाँ तरकारीको अत्यधिक उत्पादन भएको समयमा भारतीय तरकारी नरोकेसम्म किसानले यस्तो समस्या जहिल्य पनि झेलिरहनुपर्ने बताएका छन् ।