लालबन्दी, ३१ जेठ – सर्लाहीको लालबन्दी नगरपालिका–४, हरिभवन मुसहर बस्तीमा विषाक्त फल खाँदा बिरामी परेका ७ बालक उपचारपछि आज बिहान घर फर्किएका छन् ।
खेल्नेक्रममा बस्ती नजिकैको नहरमा फलेको बघण्डी फल खाँदा गएसाँझ ७ जना मुसहर बालबालिका एकैसाथ सिकिस्त बिरामी परेका थिए । उनीहरु नगर अस्पताल लालबन्दीमा १६ घण्टाको उपचारपछि आज बिहान १० बजे डिस्चार्ज भएर घर गएका हुन् ।
नगर अस्पताल लालबन्दीमा कार्यरत डा. आलोक यादवले उपचारपछि सातै जना बालकको अवस्था सामान्य भएसँगै घर पठाइएको जानकारी दिए । विषाक्त फल खाए पश्चात बारम्बार पेट दुख्ने र छाद्ने हुन थालेपछि बालकहरुलाई उपचारका लागि हिजो बेलुका ६ बजेतिर डुमडुमेस्थित नगर अस्पताल लालबन्दी ल्याइएको थियो ।
स्थानीयका अनुसार नहर किनारमा जताततै रहेको बघण्डी फलको दाना फुटाएर खाँदा मुसहर बस्तीका ८ वर्षीय बिराज माझी, ८ वर्षकै अमित माझी, अमितका भाइ ६ वर्षका अजित माझी, ६ वर्षकै आर्यन माझी, ८ वर्षका अमन माझी, १२ वर्षका राहुल माझी र ८ वर्षका राजेश माझी बिरामी परेका थिए ।
बिरामी परेका अमित र अजितकी आमा परमशीला माझीले लालबन्दीकै रन्जितपुर क्षेत्रमा मजदुरी गर्न गएका बेला छोराहरु विषाक्त फल खाएर बिरामी परेका बताईन् ।
लालबन्दी नगरपालिका ४ का वडाध्यक्ष सत्यनारायण चौधरी (शशी) का अनुसार दयनीय आर्थिक अवस्था र चेतनाको स्तर कमजोर रहेको मुसहर बस्तीमा यसरी बारम्बार विषाक्त चिजवस्तु खाँदा मानिस बिरामी पर्ने गरेका छन् ।