लालबन्दी, ३० जेठ – सर्लाहीको लालबन्दी नगरपालिका–४, हरिभवन मुसहरी बस्तीमा आज साँझ विषाक्त फल खाँदा सात जना मुसहर बालक बिरामी परेका छन् ।
खेल्नेक्रममा घर नजिकैको नहरमा रहेको एके प्लान्ट (स्थानीय बोलीचालीमा बगरेरा) भन्ने काँचो फल खाँदा सात जना बालक एकैसाथ बिरामी परेका हुन् । उक्त विषाक्त फल खाँदा सत्यनारायण माझीको आठ वर्षका छोरा बिराज, अजय माझीको आठ वर्षका छोरा अमित र साँढे छ वर्षका छोरा अजित, बिग्बा माझीको छ वर्षका छोरा आर्यन, सुन्दर माझीको आठ वर्षका छोरा अमन, १२ वर्षका छोरा राहुल र शिवचरण माझीको आठ वर्षका छोरा राजेश बिरामी परेका हुन् ।
अभिभावक मजदुरीका लागि अन्यत्र गएका बेला बालकहरुले अचानक बारम्बार छाद्न थालेपछि उनीहरुलाई छरछिमेकीले उपचारकाल लागि नगर अस्पताल लालबन्दी ल्याएका छन् । बिरामीमध्ये अमित र अजितकी आमा परमशीला माझीले घर निर्माणको काम गर्न लालबन्दीकै रन्जितपुर गएका बेला छोराहरु बिरामी परेको खबर पाएपछि अस्पताल आएको उज्यालो अभियानसँग बताईन् ।

बिरामी सातै जना बालकको नगर अस्पतालमै उपचार चलिरहेको छ । नगर अस्पतालका डा. आलोक यादवले बिरामी बालकहरुको अवस्था सुधारोन्मुख रहेको उज्यालो अभियानलाई जानकारी दिए । डा. यादवका अनुसार काँचो अवस्थाको एके प्लान्ट फल खाँदा शरीरमा रगत र चिनीको मात्रा एक्कासी घट्छ । उनले बिरामी बालकहरुलाई स्लाइ पानी चढाएर अन्य उपचार भइरहेको जनाए ।
लालबन्दी ४ का वडाध्यक्ष सत्यनारायण चौधरीले आर्थिक अवस्था दयनीय रहेको र ज्याला मजदुरी गरेर गुजारा टार्ने मुसहर समुदायका सात जना बालक एकैपटक बिरामी परेपछि उपचारमा समन्वय गरिरहेको बताए ।