logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

चर्को घामले सुक्न थाल्यो धानको ब्याड, पानी बोकेर पटाउँदै किसान


  • उज्यालो अभियान

हरिपुर, २५ जेठ – चर्को घामका कारण सर्लाहीमा किसानले राखेको धानको ब्याड सुक्न थालेको छ ।

एक सातादेखिको अत्यधिक चर्को घामले गर्दा धुले तथा हिले दुवै प्रकारको धानको ब्याड सुक्न थालेको किसानले गुनासो गरेका छन् । सिँचाईको सुविधा रहेको क्षेत्रका किसानले कुलो तथा नहरबाट पानी पटाएर धानको ब्याड जोगाइरहेको भए पनि आकाशे वर्षाको भरमा खेती हुने क्षेत्रमा समस्या परेको हो ।

किसानले पानी ओसारेर धानको ब्याडमा सिँचाई गर्न थालेका छन् । असार लाग्नै लाग्दा केही किसानले तत्काल रोपाइँ सुरु गर्ने गरी धानको ब्याड तयार पारिरहेका छन् । मकै नरोपेर बाँझै राखिएको खेतमा असार लाग्ने बित्तिकै धान रोप्ने गरिन्छ ।

मकै फलेपछि मात्रै धान रोप्ने किसानले भने ढिलो गरी ब्याड राख्ने गरेका छन् । यस क्षेत्रमा आकाशे पानीको भरमा रोपाइँ गर्ने किसानले धुले ब्याड अर्थात् धुलो माटोमा र सिँचाई सुविधा रहेको क्षेत्रका किसानले खेत गदारेर हिले ब्याड गरेका छन् ।

कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेव प्रसाद कुशवाहाले सिँचाई सुविधा रहेको क्षेत्रमा समस्या नरहेको तर धुले ब्याड राखेका किसानलाई जमिन धेरै तातेको र केही दिनदेखि चर्को घाम लाग्दा ब्याड जोगाउन मुस्किल पर्न थालेको बताए ।