नगरपालिकाले मर्ज गर्ने निर्णय गरेको लालबन्दी १५ स्थित जनता प्रावि झरझराको जिर्ण भवन । भवन अगाडि उभिएका लालबन्दी १५ का वडाध्यक्ष गोरखबहादुर बल । (तस्बीर : उज्यालो अभियान)
लालबन्दी, २३ जेठ – लालबन्दी नगरपालिकाभित्रका ३ वटा सामुदायिक विद्यालय ‘मर्ज’ गरिएको छ ।
विद्यार्थी संख्या न्युन रहेका लालबन्दी १५ का २ वटा र लालबन्दी १७ का एउटा विद्यालयलाई नजिकैको अर्को विद्यालयमा गाभिएको हो । नगर शिक्षा समितिले लालबन्दी १५ मा रहेको जनता प्राथमिक विद्यालय झरझरालाई सोही वडाको जलकन्या प्राथमिक विद्यालय भूमरा, इन्द्रावती प्राथमिक विद्यालय कटहरबोटलाई त्यसै वडाको आधारभूत विद्यालय सतभैया र लालबन्दी १७ मा रहेको सूर्योदय प्राथमिक विद्यालय टिकुलियालाई लालबन्दी १७ मै रहेको फौदसिंह जनता माध्यमिक विद्यालय रानिगन्जमा गाभ्ने निर्णय गरेको लालबन्दी नगरपालिकाको शिक्षा शाखा प्रमुख एवं शिक्षा अधिकृत लक्ष्मी शिवाकोटीले उज्यालो अभियानसँग बताईन् ।
शिवाकोटीका अनुसार प्रावि झरझरामा विद्यार्थी संख्या शुन्य रहेको थियो । प्रावि कटहरबोटमा ८ जना र प्रावि टिकुलियामा २७ जना विद्यार्थी रहेका थिए ।
शिक्षा मन्त्रालयले बनाएको मापदण्ड अुनसार कक्षा १ देखि ३ सम्म ६० जना र कक्षा १ देखि ५ सम्म १०० जना भन्दा कम विद्यार्थी रहेको खण्डमा त्यस्ता विद्यालयलाई पालिकाले नजिकको अर्को विद्यालयमा गाभ्ने निर्णय गर्न सक्छ ।
मर्जमा परेको प्रावि झरझरामा प्रावि तहका स्थायी र राहत गरी २ जना शिक्षक, १ जना कार्यालय सहयोगी, कटहरबोट प्राविमा प्रावि तहका २ जना स्थायी र १ जना बालविकास तहका शिक्षक, १ जना कार्यालय सहयोगी, टिकुलिया प्राविमा प्रावि तहका २ जना स्थायी, १ जना बालविकास शिक्षक र १ जना कार्यालय सहयोगी कार्यरत रहेका थिए । ती शिक्षक र कर्मचारीलाई नजिकैको अन्य विद्यालयमा सरुवा गरिएको नगरपालिकाको शिक्षा समितिका संयोजक एवं लालबन्दी ८ का वडाध्यक्ष शुक्रबहादुर पाख्रिनले बताए ।

नगरपालिकाले मर्ज गर्ने निर्णय गरेको लालबन्दी १५ स्थित इन्द्रावती प्राथमिक विद्यालय कटहरबोटको भवन (तस्बीर : उज्यालो अभियान)
बन्द भएको र लगेर गाभिएको विद्यालयबिचको दुरी ५०० मिटर मात्रै रहेकाले विद्यार्थीहरु १५/२० मिनेटभित्रै हिँडेर पुग्न सक्ने नगरपालिकाको शिक्षा शाखाले जनायो । लालबन्दी नगरपालिका–१५, का वडाध्यक्ष गोरखबहादुर बलले बाध्यात्मक अवस्थाका कारण आफ्नो वडाका दुईवटा विद्यालय गाभ्नु परेको बताए ।
पछिल्लो समय बालबालिकाको जन्मदर निकै कम भएको र आर्थिक अवस्था राम्रो रहेको परिवारले आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउने गरेकाले सामुदायिक विद्यालयमा विद्यार्थी अभाव भएर विद्यालय गाभ्नुपर्ने स्थिति सिर्जना भएको वडाध्यक्ष बलको भनाई छ ।
विद्यालय मर्च गर्न नगरपालिकाले गठन गरेको समितिले विद्यार्थी संख्या न्यून रहेको लालबन्दी नगरपालिका–३, मा रहेको प्राथमिक विद्यालय शिस्वा र लालबन्दी १७ मा रहेको प्राथमिक विद्यालय रानिगन्जलाई समेत नजिकको अर्को विद्यालयमा मर्ज गर्न सिफारिस गरेको थियो । यि २ विद्यालयले भने कक्षा १ देखि ३ सम्म मापदण्ड अनुसार भर्खरै सुरु भएको नयाँ शैक्षिक सत्रमा ६० जना भन्दा बढी विद्यार्थी पुर्याएपछि विद्यालय यथावत् रहन दिने तर विद्यार्थी कम रहेका कक्षा ४ र ५ भने अर्को विद्यालयमा मर्ज गर्ने निर्णय गरिएको छ ।
प्रावि शिस्वाको कक्षा ४ र ५ लाई लालबन्दी ३ कै मनपुरण जनता मावि जब्दी र प्रावि रानिगन्जको कक्षा ४ र ५ लाई लालबन्दी १७ रानिगन्जमै रहेको कालिन्जोर माविमा मर्ज गर्ने निर्णय गरिएको छ । कक्षा ४ र ५ हटाएपछि प्रावि शिस्वामा कार्यरत कुनै पनि शिक्षक सरुवा नगरिएको तर प्रावि रानिगन्जका २ जना शिक्षकलाई भने कालिन्जोर मावि लालबन्दी १७ रानिगन्ज र प्रेमज्योति आधारभूत विद्यालय लालबन्दी ६ जनवादी चोकमा समायोजन गरिएको छ ।
मर्ज गरिएका विद्यालयका जग्गा तथा भौतिक संरचना नगरपालिकाको मातहतमा रहने छ । त्यसको तत्काल वडा कार्यालयले संरक्षण गर्ने छन् । नगरपालिकाले मर्ज गरेको प्रावि कटहरबोट २०५१, प्रावि झरझरा २०५४ र प्रावि टिकुलिया २०५१ सालमा स्थापना भएका थिए ।
३ वटा विद्यालय मर्ज भएसँगै लालबन्दी नगरपालिकामा अब सामुदायिक विद्यालय ४८ बाट ४५ वटामा झरेका छन् ।
चुरेभेगको ठुलो भु–भाग पर्ने लालबन्दी १५ मा मात्रै ९ वटा सामुदायिक विद्यालय थिए । त्यस वडाको २ वटा विद्यालय गाभिएपछि अब वडाभित्र ७ वटा विद्यालय मात्रै कायम भएका छन् ।