लालबन्दी, २० जेठ – लालबन्दी कृषि थोक तरकारी बजारमा मंगलबार किसानले बिक्री गर्न ल्याएको मिटर बोडी (तने बोडी) मा अत्यधिक विषादीको मात्रा भेटिएपछि नष्ट गरिएको छ ।
बागमती नगरपालिका–१०, सोल्टी बजारका किसान हरिन्द्र महतोले उत्पादन गरेर बजारमा बिक्री गर्न ल्याएको ७० केजी मिटर बोडी परीक्षण गर्दा अत्यधिक विषादी पाइएपछि नष्ट गरिएको हो । महतोले फलाएको बोडीमा ‘अर्गानोफस्फेट’ नामक विषादीको मात्रा ७४.९०५ प्रतिसत पाइएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइ लालबन्दीका नायब प्राविधिक दिलबहादुर राउतले बताए ।
राउतका अनुसार उपभोग्य अयोग्य रहेको ७० केजी बोडी लालबन्दी थोक तरकारी बजार छेउको डुमडुमे खोलामा गाडेर नष्ट गरिएको हो । “तरकारीमा विषादीको ३५ प्रतिसत भन्दा कम मात्रा हुँदा मात्रै खान योग्य र ३५ देखि ४५ प्रतिसतसम्म हुँदा केही दिन क्वारेन्टाइनमा राखेर ३५ प्रतिसत भन्दा कम भएपछि उपभोग योग्य हुन्छ,” नायब प्राविधिक राउतले भने, “४५ प्रतिसत भन्दा बढी विषादी भेटिए उपभोग अयोग्य हुन्छ, त्यस्तो तरकारी त ‘डिस्पोज’ नै गर्नुपर्छ ।”
यसअघि जेठ १ गते ईश्वरपुर नगरपालिकाको सागरनाथ क्षेत्रका एक किसानले लालबन्दी बजारमा ल्याएर व्यापारीलाई बिक्री गरिसकेको ६७ केजी बोडीमा ‘अर्गानोफस्फेट’ नामक नै विषादीको ६०.३०४ प्रतिसत मात्रा पाइएको थियो । उक्त ६७ केजी बोडी पनि यसैगरी डुमडुमे खोलामा नष्ट गरिएको थियो ।
किसानले लालबन्दी बजारमा ल्याएर बिक्री गरेको र व्यापारीले यहाँ किसानबाट किनेर काठमाडौं पु¥याएको बोडीमा बारम्बार अत्यधिक विषादीको मात्रा देखा परिरहेको छ । आफ्नो मेहनत र लगानी खर्चिएर उत्पादन गरेर बेच्न ल्याएको तरकारीमा विषादी अत्यधिक भेटिएपछि सोझै नष्ट गरिदिँदा मार परेको किसानले गुनासो गर्दै आएका छन् ।
व्यापारीले समेत किसानले बजार ल्याउने बेला नै विषादीको परीक्षण गर्नुपर्ने आवाज उठाइरहेका छन् । जेठ १ गते व्यापारीले किनिसकेको तरकारी परीक्षण गर्दा विषादीको अत्यधिक मात्रा भेटिएपछि नष्ट गरिँदा व्यापारीले केही दिन किसानबाट तरकारी खरिद गर्न इन्कार गरेका थिए ।
लालबन्दी थोक तरकारी बजारको अध्यक्ष समेत रहेका किसान प्रमोदकुमार थपलियाले किसानले पसिना र पैसा खर्चिएर उत्पादन गरेर ल्याएको बोडी यसरी नष्ट गर्नुपर्ने अवस्था अन्त्यका लागि पहल भइरहेको बताए । स्थानीय तहले एग्रोभेटको निगरानी नगरिदिँदा समस्या बढेको थपलियाको गुनासो छ ।
उपभोक्ताले राम्रो देखिने र सर्लक्क परेको तरकारी मात्रै खरिद गर्ने गरेकाले त्यस्तो तरकारी उत्पादन गर्न विषादी बढी हाल्ने गरेको किसानले बताउँदै आएका छन् । लालबन्दी नगरपालिकाको कृषि शाखाका प्रमुख गोकर्ण पौडेलले हप्तामा एक पटक छिट्नुपर्ने औषधि दिनैपिच्छे छिट्ने गरेको पाइएको बताए ।
बोडीमा अत्यधिक विषादी फेला परेपछि नगरभित्र व्यावसायिक तरकारी खेती हुने वडामा माइकिङ गरेर सचेतना जगाउने काम गरिएको पौडेलले बताए । “हामीले सबै वडामा माइकिङ गर्ने र पर्चा वितरण गर्ने काम गरिसक्यौँ,” कृषि अधिकृत पौडेलले भने, “यहाँका २२ वटा एग्रोभेट पसलका सञ्चालकसँग अन्तरक्रिया गरेर जथाभावी औषधि बिक्री वितरण नगर्न सचेत गराएका छौँ ।”