लालबन्दी, १६ जेठ – सर्लाहीको लालबन्दीमा हिजो सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट ३४९ जना लाभान्वित भएका छन् ।
लायन्स क्लब लालबन्दी सिटीले लालबन्दी नगरपालिका ७ नं. वडा कार्यालय र लालबन्दी मोडेल अस्पतालसँग समन्वय गरी सञ्चालन गरेको स्वास्थ्य शिविरमा ३४९ जनाले निःशुल्क उपचार गराएका हुन् । शिविरमा जनकपुर, वीरगन्ज र काठमाडौंदेखि विशेषज्ञ चिकित्सक बोलाएर स्थानीयलाई औषधि उपचारको सेवा प्रदान गरिएको लान्यस क्लब लालबन्दी सिटीका अध्यक्ष दीपक थापाले बताए ।
लालबन्दी ७ मा रहेको जानकी माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा नाक, कान र घाँटी रोग विशेषज्ञ, स्त्री रोग विशेषज्ञ, छाला रोग विशेषज्ञसहित अन्य चिकित्सकबाट सेवा प्रदान गरिएको छ । शिविरमा सेवा लिन आएका बिरामीलाई स्वास्थ्य समस्या अनुसार निःशुल्करुपमा औषधि समेत प्रदान गरिएको लायन्स क्लब लालबन्दी सिटीका पूर्व अध्यक्ष राजकुमार न्यौपानेले जानकारी दिए ।
बिरामीलाई इसिजी सेवा पनि निःशुल्क प्रदान गरिएको छ । एक दिने स्वास्थ्य शिविरमा लालबन्दी र आसपासका ठाउँबाट आएका बिरामीले सेवा लिएका लायन्स क्लब लालबन्दी सिटीका पूर्व अध्यक्ष बिकल जर्गा मगरले उज्यालो अभियानसँग बताए ।