logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

हाजिरी जवाफमा ओमनिका पहिलो


  • उज्यालो अभियान

हरिवन, ०९ जेठ – विद्यालय पोषण तथा स्वास्थ्य सप्ताहको समापनका अवसरमा आज सर्लाहीको हरिवनमा विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

हरिवन नगरपालिकाभित्रका नौवटा माध्यमिक विद्यालयको सहभागितामा प्रतियोगिता सम्पन्न भएको हो । महादेव जनता माध्यमिक विद्यालय हरिवन ८ मा सम्पन्न प्रतियोगितामा ओमनिका ज्ञानज्योति माध्यमिक विद्यालय पहिलो, सगुन आवासिय माध्यमिक विद्यालय दोस्रो र मोडेल युरिका आवासिय माध्यमिक विद्यालय तेस्रो भएका छन् ।

प्रतियोगितामा सनराइज आवासिय माध्यमिक विद्यालय चौंथो तथा डनिङ फ्यूचर एकेडेमी र महादेव जनता माध्यमिक विद्यालयले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । बिजेता विद्यालयका विद्यार्थीलाई शिल्ड, मेडल, प्रमाण–पत्र र डाइरी प्रदान गरिएको महादेव जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक गिरिराज रानाले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल) ले स्वस्थ जीवनशैली अपनाउन र पोषणसम्वन्धी ज्ञानलाई व्यवहारमा उतार्न हाजिरीजवाफ प्रतियोगिताले प्रेरित गरेको बताए । नगर उपप्रमुख हरिमाया घलानले यस्ता कार्यक्रमले शैक्षिक वातावरणलाई थप जीवन्त बनाउने विश्वास व्यक्त गरिन् ।

महादेव जनता माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष मोहनकुमार कार्कीको अध्यक्षतामा आयोजित हाजिरीजवाफ प्रतियोगितामा नगरपालिकाका शिक्षा शाखा प्रमुख रुस स्टालिन चौलागाई, हरिवन स्वास्थ्य चौकीका प्रमुख श्यामविनोद कुशवाहालगायतको आतिथ्यता रहेको थियो ।

विद्यालय पोषण तथा स्वास्थ्य सप्ताहले विद्यार्थी, शिक्षक र अभिभावकमा स्वास्थ्य एवं पोषणसम्वन्धी जानकारी फैलाएर समुदायमा स्वस्थ जीवनशैली प्रवद्र्धनमा टेवा पुु¥याउने विश्वास लिइएको आयोजक महादेव जनता माविले जनाएको छ ।