लालबन्दी, २६ बैशाख – सर्लाहीको लालबन्दीस्थित नगर अस्पताल डुमडुमेमा शव परीक्षण (पोष्टमार्टम) सेवा सूचारु गर्न पहल थालिएको छ ।
जिल्लाको उत्तरी भेगका कुनै पनि अस्पतालमा पोष्टमार्टम सेवा उपलब्ध छैन् । पूवपश्चिम राजमार्ग क्षेत्रबाट शव परीक्षणका लागि २५ किलोमिटर टाढा सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पताल पुर्याउनुपर्ने बाध्यता छ ।
तत्कालिन प्राथमिक स्वास्थ्य केन्द्र अर्थात् हालको नगर अस्पताल लालबन्दीमा २०६५ सालतिर पोष्टमार्टम सेवा सुरु गरिएकोमा केही समयमै बन्द भएको थियो । १७ वर्षपछि अस्पतालमा पुनः शव परीक्षण सेवा प्रदान गर्न पहल थालिएको हो ।
लालबन्दी नगरपालिकाले शव परीक्षण सेवा सुरु गर्न तयारी अघि बढाइएको भन्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई पत्र लेखेर सहयोग माग गरेको छ । नगरप्रमुख बासुदेव अधिकारीले हस्ताक्षर गरी शव परीक्षण सेवाका लागि नगर अस्पतालका एक जना मेडिकल अधिकृतलाई तालिममा पठाइएको र उक्त सेवा संचालनका लागि आवश्यक पूर्वाधार तथा उपकरण उपलब्ध रहेकाले गृह मन्त्रालयमार्फत प्राप्त हुने सहयोगका लागि पहल गरिदिन जिल्ला प्रशासन कार्यालयमा पत्र बुुझाइएको छ ।
गृह मन्त्रालयबाटै स्वीकृत लिएर सेवा संचालन गर्दा आवश्यक खर्च प्राप्त हुने भएकाले जिल्ला प्रशासन कार्यालयलाई घच्घच्याइएको लालबन्दी नगरपालिका कार्यालयले छ । नगरपालिकाको पत्र बुुझ्दै प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले अस्पतालको स्थलगत अनुुगमन गरी प्रतिवेदन दिन जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीबाट प्राविधिक पठाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
लालबन्दीमा क्रियाशील विभिन्न ७ राजनीतिक दलले लालबन्दी, हरिवन, बागमती, ईश्वरपुरसहित पूर्व पश्चिम राजमार्ग क्षेत्रमा विभिन्न कारणबाट अकालमा मृत्युवरण गरेकाको पोष्टमार्टम गर्न अत्यधिक समस्या रहेको भन्दै प्रमुख जिल्ला अधिकारी श्रेष्ठलाई भेटेर पोष्टमार्टम सेवा संचालनको माग राखेका छन् ।
नगर अस्पताल लालबन्दीका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्दन चौधरीले अहिले अस्पताल रहेको भवनको पछाडिपट्टी आगामी जेठको अन्तिमतिरबाट शव पोष्टमार्टमको व्यवस्था मिलाउने गरी तयारी भइरहेको जानकारी दिए । अस्पतालका प्रमुख डा. चौधरीले यहाँदेखि मलंगवासम्म शव पोष्टमार्टम गर्न लैजाँदा शववाहन वा अन्य सवारीलाई तिर्ने भाडा बराबरको न्यूनतम रकम मृतकको परिवारसँग लिएर पोष्टमार्टम सेवा सुरु गर्ने गरी छलफल भइरहेको बताए ।
पोष्टमार्टम सेवा सुरु गरेपछि त्यहाँ खटिने चिकित्सक र सहयोगी कामदारको ज्याला तथा प्लाष्टिक, ग्लोब्सजस्ता आवश्यक स्वास्थ्य सामग्री जुटाउन खर्च लाग्ने र त्यसको व्यवस्थापन मृतकको परिवारसँग न्यूनतम शुल्क लिएर गर्ने गरी तयारी गरिएको हो । पोष्टमार्टम सेवा सुरु गरेपछि प्रहरी समेत आवश्यक पर्ने भएपछि नगरपालिका कार्यालयले गृह मन्त्रालयको साथ, सहयोग खोजेको छ ।