लालबन्दी, २४ बैशाख – एक महिनासम्म चलेको शिक्षक आन्दोलन रोकिएसँगै संचालनमा आएका सामुदायिक विद्यालयले विद्यार्थी भर्ना अभियान र पठनपाठन सँगसँगै अघि बढाएका छन् ।
सर्लाहीका २० वटै पालिकाका सामुदायिक विद्यालयले घरदैलो गरेर विद्यार्थी भर्ना अभियान चलाउने र भर्ना भइसकेका विद्यार्थीलाई पठनपाठन गराउने कार्य एकैसाथ अघि बढाएका हुन् । शिक्षक, कर्मचारी, जनप्रतिनिधि, व्यवस्थापन समितिका पदाधिकारी र विद्यार्थी आफै पनि भर्ना अभियानबारे जानकारी दिन विभिन्न बस्तीमा पुगिरहेका छन् ।
लालबन्दी नगरपालिका १४ मा रहेको जनसेवा प्राथमिक विद्यालय सत्रकठ्ठाका प्रधानाध्यापक उत्तर गुर्मछानले विद्यालय आउने उमेर भएका बालबालिकालाई विद्यालय भर्ना गराउन आग्रह गर्दै घरदैलोमै पुगिरहेको जानकारी दिए ।

सामुदायिक विद्यालयलाई घरदैलो, विद्यार्थी भर्ना र पुस्तक वितरणको चटारो परेको छ ।
एक महिनासम्म आन्दोलनमा होमिएका शिक्षक अहिले भर्ना अभियान र पठनपाठनमा व्यस्त रहेका छन् । ईश्वरपुर नगरपालिका १२ मा रहेको नेपाल राष्ट्रिय जनता माध्यमिक विद्यालय बद्रीपुर घारीका शिक्षक भीमबहादुर खड्काले उमेर पुुगेका बालबालिकालाई विद्यालय पठाउन आग्रह गर्दै सचेतनासहित घरदैलो कार्यक्रम गरिरहेको बताए ।

विद्यालयले विशेष गरी पिछडिएको दलित बस्तीलाई प्राथमिकतामा राखेर घरदैलो गरिरहेका छन् । विद्यार्थी भर्ना अभियानमा विभिन्न गैरसरकारी तथा शिक्षासँग जोडिएर काम गर्ने सङ्घसंस्थाले समेत सहयोग गरेका छन् ।
पूर्व पश्चिम राजमार्ग क्षेत्रका लालबन्दी, हरिवन र ईश्वरपुरका केही सामुदायिक विद्यालयमा विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा नै लिने गरिएको छ । उत्तरी भेगका प्रशिद्ध विद्यालयमा दक्षिणी भेगबाट ठूलो संख्यामा विद्यार्थी आएर भर्ना हुने गरेका छन् ।