रीना आले/हरिवन, २२ बैशाख – कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) सर्लाहीको आयोजनामा हरिवनमा आयोजित नगरस्तरीय हाजिरीजवाफ प्रतियोगितामा समता स्कुल पहिलो भएको छ ।
हरिवन बजारस्थित वडा नं. ११ को वडा कार्यालय भवनमा सम्पन्न क्वीज प्रतियोगितामा हरिवन ११ मा मासिक १०० रुपैयाँमै अंग्रेजी माध्यममा पठनपाठन गराइरहेको समता स्कुल पहिलो हुन सफल भएको हो । प्रतियोगितामा हरिवन ११ मै रहेका सरराइज आवासिय माध्यमिक विद्यालय दोस्रो र मनकामना आवासिय माध्यमिक विद्यालय तेस्रो भएका आयोजक कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) सर्लाहीले जनाएको छ ।
सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित प्रतियोगितामा हरिवन नगरभित्रका ८ वटा विद्यालयबाट दुई/दुई जना विद्यार्थी सहभागी थिए । आधूनिक डिजिटल युगमा अध्ययन, अनुसन्धानका साथै कम्प्युटरले शिक्षामा जोड दिँदै हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरिएको आयोजकका सचिव सरोज भट्टराईले जानकारी दिए ।
आयोजक संस्थाका अध्यक्ष हरिशचन्द बानियाँको अध्यक्षता, हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल) को प्रमुख आतिथ्यता र नेपाली कांग्रेस सर्लाहीका सचिव निरज कार्कीको विशिष्ठ आतिथ्यतामा हाजिरीजवाफ प्रतियोगिताका बिजेता विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ ।