लालबन्दी, २२ बैशाख – सर्लाहीको लालबन्दीस्थित कृषि थोक बजारमा किसानले उत्पादन गरेर बिक्री गर्न ल्याएको बोडीले मुल्य पाउन छाडेको छ ।
सुरुमा ९० देखि १०० रुपियाँ प्रतिकेजी बोडी बिक्री भएकोमा केही दिनदेखि ३५ देखि ४० रुपियाँ केजीमा बेचिरहेको किसानले बताएका छन् । थोरै मात्र आउने बोडी अहिले बजारमा अत्यधिक भित्रिन थालेपछि किसानले मुल्य पाउन छाडेका हुन् ।
बोडीले उचित मूल्य नपाउँदा किसान निराश भएका छन् । ईश्वरपुर नगरपालिका ३ भक्तिपुरदेखि साइकलमा हालेर बोडी बिक्री गर्न आएका किसान गणेश महतोले बोडी बिक्रीबाट लगानी समेत नउठ्ने अवस्था आउन लागेको बताए ।
प्रतिकेजी ५० रुपियाँभन्दा माथिमा बोडी बिक्री गर्दा किसानलाई दुुई/चार रुपियाँ बस्ने तर अहिले जस्तो ३५/४० रुपियाँमा बेच्दा हैरानी र विषादीको पैसा उठाउनै धउधउ पर्ने महतोले बताए । कृषि उपज थोक बजार समिति लालबन्दीका अनुसार हरेक दिन बिहान बोडी बोकेका साइकल, मोटरसाइकल, इ–रिक्सालगायत सवारी साधनको बजारमा लर्काे लाग्ने गरेको छ ।
उत्पादन बढेसँगै केही दिनयता लालबन्दीमा २०० क्वीन्टलको हारहारीमा बोडीको किनबेच हुने गरेको व्यापारी मोहम्मद उस्मानले जानकारी दिए । बजारमा बोडी राईछाई भएपछि व्यापारीहरु मिलेर मूल्य घटाएको किसानको गुनासो छ ।
लालबन्दी बजारमा लालबन्दी, हरिवन, ईश्वरपुर, हरिपुर, चन्द्रनगर, कविलासीलगायत सर्लाहीका विभिन्न पालिका र महोत्तरीको बर्दीवास र गौशालाका किसानले बोडी ल्याएर बिक्री गरिरहेका छन् । अहिले मिटर बोडी अत्यधिक उत्पादन हुने याम हो ।
लालबन्दी बजारमा ल्याएर यस क्षेत्रका किसानले बिक्री गर्ने गरेको बोडी व्यापारीले काठमाडौंसहित जनकपुर, गौर, वीरगन्ज, मलङ्गवा, चन्द्रनिगाहपुुर, सिन्धुली, उदयपुर, नारायणघाटलगायतका बजारमा लगेर बेच्ने गरेका छन् ।