बयलवास, २१ बैशाख – नेकपा एमाले ईश्वरपुरको नगर कमिटी चयन गर्न आज मतदान सम्पन्न भएको छ ।
बयलवासस्थित उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न मतदानमा ३२१ जना प्रतिनिधिमध्ये ३१५ जनाले मत खसालेका नगर अधिवेशनका लागि गठित अध्यक्ष मण्डलका अध्यक्ष एवं ईश्वरपुर नगरपालिकाका निवर्तमान नगरप्रमुख मनोजकुमार देवकोटाले जानकारी दिए । ईश्वरपुर नगरपालिकाको १५ वटा वडाबाट छानिएर आएका २३९ जना भूगोल प्रतिनिधि, आयोजक कमिटी अर्थात् साबिकको नगर कमिटीका ६७ जना र जनवर्गिय संगठनका १५ जना गरी ३२१ जना मतदाता रहेका थिए ।
साँझ ६ बजेदेखि नै मतगणना सुरु गर्ने तयारी रहे पनि प्रतिनिधिहरु चिया, खाजा खान निस्किएकाले मतगणना केही समयपछि सुरु हुने भएको छ । मतगणनामा कुनै विवाद नआए अढाई, तीन घण्टाभित्र अन्तिम नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिएको निर्वाचन समितिका संयोजक कपिलमुनि पोखरेलले उज्यालो अभियानसँग बताए ।
हिजो बयलवासस्थित उद्योग वाणिज्य संघकै सभा हलमा उद्घाटन भएको दोस्रो नगर अधिवेशनमा नयाँ नेतृत्वका लागि सहमतीको प्रयास असफल भएपछि आज मतदान भएको हो ।
ईश्वरपुर एमालेको नेतृत्वका लागि अहिलेका अध्यक्ष ईश्वरपुर ५ फूलजोरका मिनप्रसाद गौतम र ईश्वरपुर ४ सागरनाथका ध्वजमान मोक्तानको प्यानलसहित उम्मेदवारी परेको छ ।
एमाले सर्लाहीको पालिका अधिवेशन अन्तर्गत लालबन्दीपछि ईश्वरपुरमा पनि चुनाव नै भएको हो ।