बयलवास, २१ बैशाख – नेकपा एमाले ईश्वरपुर नगर कमिटीको नेतृत्व चयन गर्न आज मतदान हुँदै छ ।
हिजो बयलवासस्थित उद्योग वाणिज्य संघको सभा हलमा उद्घाटन भएको दोस्रो नगर अधिवेशनमा नयाँ नेतृत्वका लागि सहमतीको प्रयास असफल भएपछि आज मतदान हुन लागेको हो । ईश्वरपुर एमालेको नेतृत्वका लागि अहिलेका अध्यक्ष ईश्वरपुर ५ फूलजोरका मिनप्रसाद गौतम र ईश्वरपुर ४ सागरनाथका ध्वजमान मोक्तानले प्यानलसहित उम्मेदवारी दिइसकेका छन् ।
नयाँ नेतृत्व चयनका लागि मतदान हुँदा ३२१ जना प्रतिनिधिले मतदान गर्न पाउने छन् । १५ वटा वडाबाट छानिएर आएका २३९ जना, आयोजक कमिटी अर्थात् साबिकको नगर कमिटीका ६७ जना र जनवर्गिय संगठनका १५ जना गरी ३२१ जना मतदाता रहेका छन् ।
एमाले सर्लाहीको पालिका अधिवेशन अन्तर्गत अहिलेसम्म लालबन्दीबाहेक अन्यत्र अन्तिमसम्म प्रयास गरी सहमतीमै नेतृत्व चयन गरिएको छ । ईश्वरपुरमा पनि सहमती हुन नसकेपछि चुनाव गर्न लागिएको नेताहरुले बताएका छन् । बन्द सत्र सुरु हुनुुअघि दोस्रो नगर अधिवेशनको उद्घाटन पार्टीकी केन्द्रीय सदस्य रन्जना सरकारले गरेकी थिईन् ।
आफूहरु मतदानको तयारीमा अघि बढेको निर्वाचन समितिका संयोजक कपिलमुनि पोखरेलले उज्यालो अभियानसँग बताए ।