logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

खुटौना नाकामा स्रोत नखुलेको ३२ लाख बरामद, एक भारतीय युवक पक्राउ


  • उज्यालो अभियान

मलंगवा, १४ बैशाख – प्रहरीले सर्लाहीको मलंगवा नगरपालिका–६, खुटौनाबाट स्रोत नखुलेको ३२ लाख बढी रकमसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत सितामढी थाना कुनौली बस्ने ४० वर्षीय शम्भुकुमार साह रहेका छन् । उनलाई आज बिहान ७ बजेतिर खुटौना नाका भएर भारतबाट बीआर ०६ सिटी २४२२ नम्वरको मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेको अवस्थामा पक्राउ गरिएको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्रबहादुर सिंहले उज्यालो अभियानसँग बताए ।

एसपी सिंहका अनुसार साहको साथबाट स्रोत खुलाउन नसकेको ३२ लाख ३५ हजार ४४० नेपाली रुपियाँ र दुुई हजार १४० भारतीय रुपियाँ बरामद भएको छ । साह हुण्डी कारोवारमा संलग्न रहेको हुन सक्ने आशंका गरिएको छ ।

उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । सर्लाहीसहित तराईका सीमा नाकामा यसरी बारम्बार स्रोत नखुलेको रकमसहित मानिस पक्राउ पर्ने गरेका छन् ।