logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

अवसर र स्वार्थका लागि पार्टी फुटाइन्छ : हृदयश त्रिपाठी


  • उज्यालो अभियान

मलंगवा, १४ बैशाख – जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयश त्रिपाठीले अवसरका लागि दल विभाजन गर्ने परिपाटी मौलाएको बताएका छन् ।

आज सर्लाही सदरमुकाम मलंगवामा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्व मन्त्री त्रिपाठीले एक/दुई पटकबाहेक अधिकांश अवस्थामा दल विभाजन अवसरका लागि मात्रै भइरहेको बताएका हुन् । मधेश केन्द्रीत दल त अझ बढी विभाजित हुने गरेको प्रशङ्ग उल्लेख गर्दै त्रिपाठीले आफ्नो राजनीतिक कार्यकालमा शैद्धातिक हिसाबले एक पटक नेपाल सद्भावना पार्टी टुक्रिएर नेपाल सद्भावना पार्टी आनन्ददेवी गठन हुनुुबाहेक अन्य पार्टी अवसर र स्वार्थका लागि मात्रै विभाजित भएको बताए ।

त्रिपाठीको दलसहित मधेश केन्द्रीत विभिन्न सात दलले भर्खरै मात्र सङ्घीय लोकतान्त्रिक मोर्चाको घोषणा गरेका छन् । उक्त मोर्चामा आवद्ध सात दलमध्ये एक दलका अध्यक्ष त्रिपाठीले अब पनि राजनीतिक पार्टी र नेता नसच्चिए अहिलेको व्यवस्था खतरामा पर्ने सङ्केत देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

आफू गलत काम गर्ने तर प्रणाली नै खराब रहेको भन्ने भाष्य निर्माण गर्न खोजिएको त्रिपाठीको भनाई छ । उनले स्थानीय तहदेखि केन्द्रसम्म नै भ्रष्टाचार र अनियमितताले चरम सीमा नाघेको उल्लेख गरे ।

मधेशमा प्रदेशमा त अझ योजनाको अग्रिमरुपमा कमिसन दिएर काम गर्नुपर्ने अवस्था मौलाउँदै गएकोप्रति जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष त्रिपाठीले चिन्ता व्यक्त गरेका छन् ।