logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सामुदायिक विद्यालयमा ताला, निजीलाई भर्ना लिने चटारो


  • उज्यालो अभियान

लालबन्दी, १३ बैशाख – शिक्षक आन्दोलनका कारण सर्लाहीका सामुदायिक विद्यालय बन्द रहे पनि निजी विद्यालयलाई भने विद्यार्थी भर्ना लिन भ्याइनभ्याइ परेको छ ।

निजी विद्यालयले धमाधम विद्यार्थी भर्ना लिएर शैक्षिक सत्र, २०८२ को पठनपाठन सुरु गरिसकेका छन् । सामुदायिक विद्यालयमा भने गेटमा ताला झुुन्ड्याइएको छ ।

धमाधम विद्यार्थी भर्ना लिएर पठनपाठन सुरु गर्नुपर्ने विद्यालय सुनसान देखिन्छन् । सङ्घीय शिक्षा ऐनलाई बटमलाइन बनाएर देशभरका शिक्षक २४ दिनदेखि सङ्घीय राजधानी काठमाठौंमा आन्दोलन गरिरहँदा विद्यालय भने बन्द छ ।

लामो समयदेखि विद्यालय बन्द रहँदा गरिब तथा अतिविपन्न समुदायमा बढी प्रभाव परेको देखिन्छ । पिछडिएको मुसहर, डोम, चमारसहित अतिविपन्न एवं दलित समुुदाय, जसको निजी विद्यालयमा बालबालिका पढाउने क्षमता छैन उनीहरु सामुदायिक विद्यालय नखुल्दा सबैभन्दा बढी मारमा परेका छन् ।

बरहथवा नगरपालिका–८, टाँडीकी सरिता माझी मुसहरले विद्यालय नखुल्दा गाउँघरका बालबालिका दिनभर खेलेरै बसिरहेका जानकारी दिईन् । सामुदायिक विद्यालय खुल्ने र त्यसपछि छोराछोरीलाई विद्यालय पठाउने आशमा मुसहर समुदाय रहेका उनको भनाई छ ।

यो समयमा सामुदायिक विद्यालयका शिक्षक, व्यवस्थापन समितिका पदाधिकारी, जनप्रतिनिधिलगायत विद्यार्थी भर्ना अभियान लिएर घरदैलोमै पुुग्थे । यो वर्ष शिक्षक आन्दोलनले घरदैलो अभियान पनि हुन सकेको छैन् ।

विद्यालय खोलेर पठनपाठन गराउनु पर्ने शिक्षक काठमाडौं पुुगेर दिनहुँ आन्दोलन गरिरहेका छन् । घरमै रहेका शिक्षक विद्यार्थी भर्ना, पठनपाठनलागयत कुनै पनि गतिविधि नगर्नु भन्ने शिक्षक महासङ्घको निर्देशन रहेकाले घरधन्दा तथा खेतबारीको काम गरेर बसिरहेका छन् ।

ईश्वरपुर नगरपालिका–८, का वडाध्यक्ष श्यामबहादुर थापाले सरकारले तत्काल शिक्षकसँग वार्ता गरेर सामुदायिक विद्यालय खुलाउने वातावरण सिर्जना नगरे अनेक प्रयासबाट सुधार गर्दै ल्याइरहेको सामुदायिक विद्यालयको अवस्था थप बिग्रन सक्ने चिन्ता व्यक्त गरेका छन् । शिक्षकको आन्दोलन लम्बिँदै जाँदा सामुदायिक विद्यालयमा अध्ययन गर्दै आइरहेका विद्यार्थी निजी विद्यालयमा भर्ना हुने र सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या अझ घट्न सक्ने चिन्ता अभिभावकले व्यक्त गर्न थालेका छन् ।

निजी विद्यालयका विद्यार्थी धमाधम पढ्न गइरहेका छन् भने सामुदायिक विद्यालयका विद्यार्थी खेलेर बसिरहेका देखिन्छ । लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारीले सूचना जारी गर्दै बालबालिकाको भविष्यमाथि खेलवाड गर्ने अधिकार कसैलाई नरहेको भन्दै तत्काल विद्यालय खुलाउने वातावरण मिलाउन अपिल गरिसकेका छन् ।

विद्यार्थी भर्नाका लागि हानाथाप गर्ने लालबन्दीका सामुदायिक विद्यालय अहिले बन्द रहेका छन् ।

लालबन्दीमा निजी विद्यालय छाडेर जनज्योति नमूना माध्यमिक विद्यालय, जानकी माध्यमिक विद्यालयसहितका केही सामुदायिक विद्यालयमा विद्यार्थी भर्नाका लागि हानाथप नै पर्छ तर यो वर्ष बैशाख दोस्रो साता सक्किनै लाग्दा पनि शिक्षक आन्दोलनका कारण विद्यालय बन्द हुँदा भर्ना अभियान नै ठप्प छ ।