हजरिया, ०७ बैशाख – सर्लाहीको बरहथवा नगरपालिका–१, हजरियामा हिजो नेपाली कांग्रेसको पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
कांग्रेस मधेश प्रदेशका सभापति कृष्णा यादवको प्रमुख आतिथ्यतामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेकपा एमालेका उद्धव न्यौपाने, नरनारायण सहनी, जयराम महतो, अनिल ओझासहित विभिन्न पार्टी परित्याग गरी नेता, कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका कांग्रेस नेताले दावी गरेका छन् ।

नव वर्ष २०८२ को शुुभकामना आदानप्रदानका लागि समेत आयोजित कार्यक्रममा कांग्रेस मधेश प्रदेश उपसभापति वीरेन्द्रप्रसाद सिंह, प्रदेशसभा सदस्य जंगिलाल राय, पूर्व मन्त्री शम्भुलाल श्रेष्ठ, जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंहलगायतले मन्तव्य व्यक्त गर्दै आगामी स्थानीय तह निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई जिताएर पार्टीको सरकार बनाउन सहयोग गर्न स्थानीयसँग आग्रह गरेका छन् ।
यसैबिच, हरिवन नगपालिका २ अत्रौलीमा नेपाली कांग्रेसका पुराना नेता स्वर्गिय सुखदेव महतोको शालिक निर्माण हुने भएको छ ।

तत्कालिन माओवादीको सशस्त्र विद्रोहका बेला २०५९ साल बैशाख २१ गते मारिएका महतोको गाउँमै शालिक बनाइने भएको हो । उक्त शालिकको हिजो कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहले शिलान्यास गरेका छन् ।