logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

अहिलेकै गणतन्त्र सुन्दर छ, यसैलाई संरक्षण गर्नुपर्छ : डा. सिके राउत


  • उज्यालो अभियान

चन्द्रनगर, ०३ बैशाख – जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले गणतन्त्रको विकल्प नरहेको बताएका छन् ।

आफ्नो पार्टीको गाउँपालिका कमिटीले आज सर्लाहीको चन्द्रनगर गाउँपालिकास्थित नाढीमन ताल परिसरमा आयोजना गरेको आमसभा एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै डा. राउतले अहिलेकै गणतान्त्रिक व्यवस्था सुन्दर रहेको र यसैलाई संरक्षण गर्नुपर्ने बताएका हुन् । राजतन्त्र ल्याउन भएको प्रदर्शनको कुनै अर्थ नरहेको उनले बताए ।

जनमत पार्टीका अध्यक्ष डा. राउतले अब हुने स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन सभास्थलमा सहभागीसँग अपिल गरेका छन् ।

आमसभालाई सम्वोधन गर्दै पार्टीका नेता एवं मधेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहले प्रदेश सरकारलाई प्रहरी दिने तथा संविधान अनुसार पाउनुपर्ने अन्य अधिकार हस्तान्तरण गर्न सङ्घीय सरकारले कन्च्यूँस्याई गरेको गुनासो गरेका छन् । आफूले प्रदेशभरका अस्पतालको अनुगमन गरी अवैध अस्पताललाई बन्द गराएर स्वास्थ्य क्षेत्रबाट नै सुधारको प्रयास थालेको मुख्यमन्त्री सिंहले भनाई छ ।

मुख्यमन्त्री सिंह चन्द्रनगरको आमसभा सकेर अस्पतालको निरीक्षण गर्न आज साँझ सर्लाहीको बरहथवा बजार पुगेका छन् । उनले अस्पताल अनुगमन गरिरहेका बरहथवाका पत्रकार लक्ष्मण यादवले जानकारी दिएका छन् ।

दिउँसो नाढीमन तालमा आयोजित आमसभामा अन्य पार्टी परित्याग गरेका नेता, कार्यकर्तालाई पार्टी अध्यक्ष डा. राउत, मुख्यमन्त्री सिंहलगायतले फूलमाला र अविरसहित पार्टीमा स्वागत गर्नुभएको जनमत पार्टी सर्लाहीका इन्चार्ज श्रीचन यादव (सुजन) ले उज्यालो अभियानसँग बताए ।