बागमतीस्थित भरत तालमा आज नयाँ वर्षका दिन देखिएको भीडभाड । (तस्बीर : सिर्जना खत्री /उज्यालो अभियान)
बागमती, ०१ बैशाख – नयाँ वर्षको दिन आज दिनभर सर्लाहीको बागमतीस्थित निर्माणाधीन बागमती माछा पोखरी (भरत ताल) नयाँवर्ष मनाउन पुग्नेको भीडले भरिभराउ बनेको छ ।
पछिल्लो समय यहाँको पहिलो रोजाईमा रहेको यस तालमा नयाँ वर्ष २०८२ मा घुमफिर तथा मनोरन्जनका लागि पुग्नेको आज दिनभर भीड लागेको हो । ताल परिसरमा बोट अर्थात डुंगा चढ्न मानिसहरु लामो समयसम्म लाइनमा बसेको देखिन्थ्यो ।
यस तालमा सर्लाही, रौतहट, बारा, महोत्तरीसहित बागमती प्रदेशको सिन्धुली र मकवानपुरबाट समेत ठूलो संख्यामा मानिस आएर नयाँ वर्ष मनाएका बागमती नगरपालिका १२ का वडाध्यक्ष ओमबहादुर श्रेष्ठले जानकारी दिए । तालमा आज दिनभर आउनेको एकिन विवरण नभए पनि १० हजार भन्दा बढी मानिस आएर फर्किएका स्थानीय होटल तथा पर्यटन व्यवसायीले दावी गरेका छन् ।
भरत ताल घुम्न पुग्ने धेरै सर्लाही र रौतहटको सीमा क्षेत्रमा पर्ने नुनथर समेत पुगेर फर्किएका छन् । पूर्व पश्चिम राजमार्गमा आज अटो तथा म्याजिकलाई भरत ताल तथा नुनथरसम्म यात्रु ओसार्न भ्याइनभ्याइ परेको देखिन्थ्यो ।
गाउँ गाउँमा चल्ने अटो र म्याजिकले आज रिर्जभबाट पनि राम्रो आम्दानी गरेका छन् । भरत तालमा होटलसहित अन्य परिकार तथा खेल सामग्री बिक्री गर्ने, क्यामेरा म्यान, बोट व्यवसायीलगायतले आज उल्लेख्यरुपमा आर्थिक आर्जन गरेका छन् ।
मानिसहरु अहिले प्रायः आफ्नो ठाउँको पर्यटकीय स्थल नै छाडेर भरत ताल पुग्न थालेका छन् । आज नयाँ वर्षका अवसरमा परवानीपुरको बोहोरेडाँडा, पत्थरकोट, सागरनाथ, लालबन्दीको पिसपार्क, चन्द्रनगरको नाढीतालमा पनि मानिसहरु पुगेका छन् ।
बागमतीको भरत तालमा भने भारतीय पर्यटक पनि उत्तिकै संख्यामा आउने गरेका छन् ।