हरिवन, ०१ बैशाख – सत्ताधारी नेकपा एमाले हरिवन नगर कमिटीको तेस्रो अधिवेशनबाट अध्यक्षमा सीताराम पोखरेल सर्वसम्मत चयन भएका छन् ।
हरिवन ११ स्थित सरस्वती पार्टी प्यालेसमा अस्ती शनिबार अधिवेशनको उद्घाटन भएको थियो । उद्घाटनकै दिन बेलुकादेखि बन्दसत्र सुरु गरी नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाइएको थियो ।
अध्यक्षमा ७ जनाले दावी गरेका थिए । हिजो बेलुका अबेर अन्य उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि अहिलेकै अध्यक्ष पोखरेल पुनः ३ वर्षका लागि एमाले हरिवन नगर कमिटीको अध्यक्षमा चुनिएका हुन् ।
सामुदायिक वन उपभोक्ता महासंघ सर्लाहीका अध्यक्ष एवं हरिवन ९ का निवर्तमान वडाध्यक्ष समेत रहेका पोखरेललाई अन्तिममा सबैले समर्थन जनाएका हुन् । यस्तै नगर कमिटीको उपाध्यक्षमा राजेश मोक्तान, सचिवमा सन्दीप थापा, सहसचिवमा प्रमोद महतो र पविमाया पाख्रिन सर्वसम्मत चयन भएका छन् ।
अधिवेशनबाट ७५ सदस्यीय नगर कमिटी घोषणा भएको नवनिर्वाचित अध्यक्ष पोखरेलले उज्यालो अभियानसँग बताए ।