लालबन्दी, २७ चैत – गर्मी बढेसँगै तराईका जिल्लामा खरबुजाको व्यापार बढेको छ ।
यहाँको पूर्वपश्चिम राजमार्ग र अन्य भित्री सडकका किनार तथा चोक, चौतारामा खरबुजा राखेर बिक्री गर्नेहरु बढेका छन् । चैत लागेदेखि गर्मी बढ्दै गइरहेको तराईका जिल्लामा अब साउन/भदौमा लगातार झरी नपरुन्जेलसम्म खरबुजाको राम्रो व्यापार हुने गरेको छ ।
चैत लागेर गर्मी चढेसँगै पूर्वका विभिन्न ठाउँबाट खरबुजा ल्याएर बिक्री गर्न सुरु गरेको लालबन्दी नगरपालिका–७, का विनोदकुमार साह कानुुले बताए । लालबन्दी चोकस्थित पूर्वपश्चिम राजमार्ग किनारमा लामो समयदेखि गर्मीयाममा खरबुजा बिक्री गर्ने साहले अब गर्मीयामभर यसैको व्यापार गरेर परिवारको गुजारा चलाउने बताए ।
चिसोयाममा अन्य काम गर्ने र गर्मी लागेपछि खरबुजा बेच्न बस्ने गरेको साहको भनाई छ । यहाँ अहिले खरबुजा प्रतिकेजी ५० रुपियाँमा बिक्री भइरहेको छ ।
गाउँगाउँबाट बजार आउने सर्वसाधारणले शित्तलताका लागि यो मौसममा खरबुजा किनेर लैजाने गरेका छन् । सर्लाहीमा पूर्वपश्चिम राजमार्गको लालबन्दीमा मात्रै एक दर्जन बढी व्यापारीले खरबुजा बिक्री गर्न राखेका छन् ।
जिल्ला सदरमुकाम मलङ्गवासहित नवलपुर, हरिवन, बागमती, बरहथवा, बयलवास, हरिपुरलगायतका भित्री बजारमा खरबुजाको व्यापार बढेको छ । व्यापारीका अनुसार पूर्वको धनुुषा, सुनसरी, झापालगायतका जिल्लामा उत्पादन भएको खरबुजा यहाँ ल्याएर बिक्री गर्ने गरिन्छ ।
सडक किनारमा ठेला राखेर तथा फलफूल पसलमा समेत राखेर खरबुजा बिक्री गर्ने गरिएको छ । लालबन्दी बजारका फलफूल व्यवसायी जीतेन्द्र साहले गर्मीयामभर खरबुजाको व्यापार राम्रो हुने सुनाए ।
खरबुजासँगै मेवा र भुुइँ कटहर चाना काटेर तथा सिङ्गै पनि बिक्री हुने गरेको व्यापारीले बताएका छन् ।