चन्द्रनगर, २४ चैत – सर्लाहीको चन्द्रनगर गाउँपालिका–२, बबरगन्ज पर्ती बजारमा आधारभूत अस्पताल अलपत्र परेको छ ।
सञ्चालन गर्ने स्रोत नहुँदा अघिल्लो पटकका जनप्रतिनिधिको कार्यकालमै निर्माण सम्पन्न भएको अस्पताल भवन अझै सञ्चालन हुन सकेको छैन् । १५ शय्याको अस्पताल भवन प्रयोग नहुँदा दिनानुदिन जिर्ण बन्दै गएको स्थानीयले बताएका छन् ।
चन्द्रनगर गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक अमृतकुमार चौधरीले अलपत्र अस्पताल सञ्चालनका लागि कुनै निकायबाट बजेट विनियोजन हुन नसकेको बताउनुुभयो । अघिल्लो आर्थिक वर्षमा स्वास्थ्य सेवा विभागबाट अनुुगमनमा आएको टोलीले अस्पताल सञ्चालनका लागि दुुई करोड रुपियाँ विनियोजन गर्ने आश्वासन दिए पनि चालू आर्थिक वर्षमा अस्पताल भवन सञ्चालनका लागि कहीँकतैबाट बजेट नपरेको स्वास्थ्य शाखा संयोजक चौधरीले जानकारी दिए ।
आर्थिक अभावमा अस्पताल भवन प्रयोगमा ल्याउन नसकिएको उनले बताए । “अस्पताल भवन तयार नै छ तर आवश्यक उपकरण तथा स्वास्थ्यकर्मी नियुक्त गर्न कहीँबाट बजेट प्राप्त भएको छैन्,” स्वास्थ्य शाखा संयोजक चौधरीले भने,“अब आगामी आर्थिक वर्ष गाउँपालिकाबाटै बजेट व्यवस्था गरेर अस्पताल सञ्चालनमा ल्याउने चर्चा भइरहेको छ ।”
निवर्तमान गाउँपालिका अध्यक्ष महेन्द्र महतोको कार्यकालमा निर्माण व्यवसायीबाट गाउँपालिकालाई हस्तान्तरण गरिएको अस्पताल भवन सञ्चालनमा नआउँदा स्थानीय आधारभूत स्वास्थ्य सेवा लिनका लागि अन्यत्र जान बाध्य छन् । चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले आधारभूत अस्पताल सञ्चालनका लागि ठूलो रकम आवश्यक पर्ने तर त्यसका लागि प्रदेश तथा सङ्घ सरकारमा पहल गरे पनि सुनुवाई नै नभएको गुनासो गरेका छन् ।
गाउँपालिकामा नाढीमन ताल र विभिन्न पोखरी ठेक्का लिएका ठेकेदारबाट ठेक्काबापतको तीन करोड बढी रुपियाँ भन्दा बढी पैसा उठ्न बाँकी रहेको र सो रकम उठाएर अस्पताल सञ्चालन गर्ने लक्ष्य समेत पूरा हुन नसकेको गाउँपालिका अध्यक्ष महतोले बताए । “अस्पताल भवन सञ्चालनका लागि प्रदेश र सङ्घ सरकारमा धाउँदाधाउँदै थाकिसक्यौँ,” गाउँपालिका अध्यक्ष महतोले भने, “स्वास्थ्य मन्त्रालयले एक पटक फाइल त अगाडि बढ्यो भन्यो तर पछि अर्थमन्त्रालयमा गएर रोकियो भन्दै बहानाबाजी गरियो ।”
यो वर्षदेखि गाउँपालिकाका जनप्रतिनिधिबिच सहमती भएर बेलैमा बजेट पास हुन थालेकाले आगामी आर्थिक वर्षमा बजेट विनियोजन भएर अस्पताल भवन सञ्चालन हुने आश रहेको स्थानीयले बताएका छन् ।