लालबन्दी, २४ चैत – नेकपा एमाले लालबन्दी नगर कमिटीको नयाँ नेतृत्व चयन गर्न आज मतदान हुुँदै छ ।
दोस्रो नगर अधिवेशन अन्तर्गत हिजो दिउँसो उद्घाटन सत्र सकेर साँझसम्म नेतृत्व चयनका लागि सहमतीको प्रयास गरिएको थियो । तर, अध्यक्षमै सहमती जुट्न नसकेपछि आज मतदान गरेर टुंग्याउन लागिएको हो ।
एमाले लालबन्दीको भावी नेतृत्वका लागि उज्वलकुमार कार्की, प्रेमप्रसाद आचार्य (उमेश), माधवप्रसाद खरेल र लीलाकुमार बानियाँको उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक कमल पौडेलले जानकारी दिए । पौडेलका अनुसार उपाध्यक्षमा ३ जना, सचिवमा २ जना र सह–सचिव पुरुष तथा महिलातर्फ २/२ जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन समितिले आज बिहान ९ बजेदेखि १० बजेसम्म उम्मेदवारी फिर्ताको समय दिएको छ । लालबन्दी ६ स्थित मदन आश्रीत भवनमा जारी नगर अधिवेशनमा मतदानका लागि मध्यान्ह १२ बजेदेखि अपरान्ह ४ बजेसम्मको समय छुट्याइएको छ ।
कुनै अवरोध नआए मतदान सकिएको एक/डेढ घण्टामै मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी गरिएको निर्वाचन अधिकृत पौडेलले बताए । मतदानमा लालबन्दी नगरपालिकाको १७ वटै वडाबाट छानिएका आएका प्रतिनिधि र निर्वतमान नगर कमिटीमा रहेका ५१ जना सहित जम्मा ३०९ जना प्रतिनिधिले मतदान गर्न पाउने छन् ।
उता, हरिपुरमा आयोजित नेकपा एमालेको पहिलो नगर अधिवेशनमा भने विवाद देखिएको छ । बेलुका अबेर एक पक्षले एकलौटी ढंगले कमिटी घोषणा गर्ने तयारी गरेपछि अर्को पक्ष अधिवेशन नै बहिष्कार गरेर हिँडेको बुझिएको छ ।
लालबन्दी र हरिपुरमा दुवै ठाउँको नगर अधिवेशनको हिजो पार्टीका जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य हरिप्रसाद उपे्रतीले उद्घाटन गरेका थिए ।