परवानीपुर, २३ चैत – उत्तरी भेगस्थित लालबन्दी नगरपालिका–१५, मा वडा कार्यालयले दुुर्गमबाट बर्थिङ सेन्टरमा सेवा लिन आउने सुत्केरीलाई आवास व्यवस्थापनका लागि विभिन्न सामग्री सहयोग गरेको छ ।
लालबन्दी १६ परवानीपुरमा रहेको परवानिपुर स्वास्थ्य चौकीमा संचालित बर्थिङ सेन्टरमा वडा नं. १५ को चुरेभेगका विकट गाउँबाट समेत सुत्केरीहरु सेवा लिन आउने गरेका छन् । उनीहरुलाई चुरे डाँडापाखाबाट तल परवानीपुरमा झर्दा बस्ने ठाउँको अभाव हुने गरेको छ ।
बर्थिङ सेन्टरमा भर्ना नै भएर बस्नुपर्ने सुत्केरीलाई बस्ने र पकाएर खाने सामग्रीको अभाव नहोस् भन्ने उद्देश्यले विभिन्न सामग्री प्रदान गरिएको हो । लालबन्दी १५ का वडाध्यक्ष गोरखबहादुर बलले वडाको बजेटबाट बर्थिङ सेन्टरलाई बक्स पलङ्ग, सिरक, डस्ना, ग्याँस चुल्हो, ग्याँस सिलिण्डर, भाँडावर्तन, किचेन र्याककलगायतका सामग्री प्रदान गरिएको उज्यालो अभियानसँग बताएका छन् ।
यस्तै चुरेको विकट क्षेत्रमा पर्ने लालबन्दी १५ शीर कालिन्जोरमा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई गाउँघर क्लिनिक चलाउन टेबल, कुर्सी प्रदान गरिएको छ ।
ती सामग्री वडाध्यक्ष बल, लालबन्दी १६ का वडाध्यक्ष गणेशबहादुर थापा, लालबन्दी १५ का वडा सचिव रन्जना कार्की, लालबन्दी १६ का वडा सचिव विष्णु गौतम र अन्य जनप्रतिनिधि भएर बर्थिङ सेन्टर तथा आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई हस्तान्तरण गरिएको छ ।