logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

एसइई मर्यादित बनाउने केन्द्राध्यक्षलाई सम्मान गरिने


  • उज्यालो अभियान

एसइइ, २०८१ मा खटिएका कर्मचारी तथा शिक्षक । (तस्बीर : उज्यालो अभियान)

मलंगवा, २३ चैत – सर्लाहीमा जिल्ला परीक्षा समन्वय समितिले भर्खरै सम्पन्न माध्यमिक शिक्षा परीक्षा (एसइई) मर्यादित ढंगले सम्पन्न गर्ने केन्द्राध्यक्षलाई सम्मान गर्ने निर्णय गरेको छ ।

समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले चैत ७ गतेदेखि १९ गतेसम्म संचालित एसइईमा तुलनात्मकरुपमा अन्य परीक्षा केन्द्रभन्दा परीक्षा आचारसंहिता राम्रोसँग पालना गर्ने पाँच जना केन्द्राध्यक्षलाई सम्मान गर्ने निर्णय गरेको हो ।

बैठकले महेन्द्ररत्न जगन्नाथ लक्ष्मीनिया नमूना माध्यमिक विद्यालय बरहथवा नगरपालिका–१०, मूर्तिया सीतापुरका केन्द्राध्यक्ष भरत महतो, जनता नमूना माध्यमिक विद्यालय बागमती नगरपालिका–५, सोल्टीबजारका केन्द्राध्यक्ष लोकनाथ दाहाल, जनता नमूना माध्यमिक विद्यालय बलरा नगरपालिका–८, गडहिया डुमरियाका केन्द्राध्यक्ष प्रमोद यादव, जलधर कमलदेव नमूना माध्यमिक विद्यालय ब्रह्मपुरी गाउँपालिक–१, ब्रह्मपुरीका केन्द्राध्यक्ष बिनिताकुमारी साह र जनज्योति नमूना माध्यमिक विद्यालय लालबन्दी नगरपालिका–९, लालबन्दीका केन्द्राध्यक्ष विष्णुुबहादुर पोखरेललाई सम्मान गर्ने निर्णय गरेको छ ।

कदर–पत्रसहित सम्मान गर्ने निर्णय गरेका पाँचै जना केन्द्राध्यक्ष सम्वन्धित विद्यालयमा प्रधानाध्यापक समेत हुन् । जिल्ला परीक्षा समन्वय समितिले निर्णय गरेका पाँचै जनालाई शिक्षासँग जोडिएको कुनै दिवसको अवसर पारेर सम्मान गरिने शिक्षा विकास तथा समन्वय इकाइ मलङ्गवाका प्राविधिक सहायक सुनिलकुमार कुशवाहाले जानकारी दिए ।

प्राविधिक सहायक कुशवाहाका अनुसार समितिको बैठकले सर्लाहीका ३८ वटै परीक्षा केन्द्रमा एसइई, २०८१ लाई स्वच्छ र मर्यादित ढंगले सम्पन्न गर्न सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद समेत ज्ञापन गरेको छ ।