हरिवन, २० चैत – सर्लाहीको हरिवनमा आज आयोजित खुल्ला दौड प्रतियोगितामा पाण्डव राई पहिलो बन्न सफल भएका छन् ।
६८ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा सगुन बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको सगुन रजत दौड प्रतियोगितामा हरिवन नगरपालिका–११, निवासी राई पहिलो भएका हुन् । ४१ जना सहभागी दौड प्रतियोगितामा पूर्वपश्चिम राजमार्ग अन्तर्गत हरिवनको नयाँरोडदेखि हरिवन चोकस्थित सगुन सहकारीको कार्यालय रहेको मुख्य चोकसम्मको तीन किलोमिटर राईले ९ मिनेट ४७ सेकेण्डमा पार गरेका आयोजकले जनाएको छ । खुल्ला दौडमा पहिलो भएका राईलाई ७ हजार ५०० रुपियाँ नगद, प्रमाण–पत्र र मेडलसहित पुरस्कृत गरिएको छ ।
यस्तै हरिवन नगरपालिका –८, का मीनबहादुर श्रेष्ठले ११ मिनेट ३८ सेकेण्डमा र हरिवन नगरपालिका–८, कै किरण कुँवरले १२ मिनेट ५८ सेकेण्डमा तीन किलोमिटर दौडिएर क्रमशः दोस्रो र तेस्रो भएका छन् । दोस्रो भएका श्रेष्ठलाई ५ हजार रुपियाँ र तेस्रो भएका कुँवरलाई ३ हजार रुपियाँ नगदसहित पुरस्कृत गरिएको सगुन बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक रविन्द्र रानाले जानकारी दिए ।
खुल्ला दौड प्रतियोगितामा पुरुषसँगै सहभागी चार जना महिलामध्ये महिलातर्फ पहिलो बन्न सफल हरिवन नगरपालिका–९, निवासी रोशनी दासलाई पनि प्रोत्साहनस्वरुप २ हजार रुपियाँ नगदसहित सम्मान गरिएको संस्थाका व्यवस्थापक रानाले बताए । खुल्ला दौड प्रतियोगितामा सहभागी सबै ४१ जनालाई नै प्रमाण–पत्र प्रदान गरिएको सगुन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशवप्रसाद ढकालले बताए ।

बिजेता तथा सहभागीलाई संस्थाका अध्यक्ष ढकाल, जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख रजोस घिमिरे, इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक किशोर तामाङलगायलते पुरस्कार वितरण गरेका छन् ।
६८ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा आजै हरिवनस्थित सगुन सहकारी अगाडि आयोजित रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरेका छन् । हरिवन नगरपालिकाभित्र क्रियाशील सम्पूर्ण सहकारी संस्थाले संयुक्तरुपमा रक्तदान कार्यक्रम आयोजना गरेका हुन् ।
नेपाल रेडक्रस सोसाइटी वीरगन्जको प्राविधिक सहयोग तथा हरिवन नगर सहकारी सन्जालको आयोजनामा नगरपालिकाभित्र क्रियाशील सम्पूर्ण सहकारी संस्थाले संयुक्तरुपमा रक्तदान कार्यक्रम आयोजना गरेका हुन् । दिवसकै अवसरमा हरिवन नगरपालिकाले नीति अनुसार अघि बढेका र जनताको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै हरिवन ११ मा रहेको सगुन बचत तथा ऋण सहकारी संस्था, हरिवन ६ मा रहेको त्रिवेणी बचत तथा ऋण सहकारी संस्था र हरिवन ४ मा रहेको हाम्रो कृषि सहकारी संस्थालाई सम्मान गरेको छ ।
‘मर्यादित सहकारी समुन्नत समाज’ भन्ने नाराका साथ जिल्लाका अन्य सहकारी संस्थाहरुले पनि आज ६८ औँ राष्ट्रिय सहकारी दिवस विविध कार्यक्रम गरी मनाएका छन् ।
दिवसका अवसरमा ईश्वरपुर नगरपालिका–६, बयलवासमा रहेको स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाले आज बिहान बयलवास बजारमा प्रभातफेरि निकालेको छ ।
यस्तै जिल्ला बचत तथा ऋण सहकारी संघ सर्लाहीले सदरमुकाम मलंगवामा ६८ औँ राष्ट्रिय सहकारी दिवस मनाएको छ । संघकी जिल्ला अध्यक्ष मन्दिरा आचार्यको अध्यक्षता तथा मधेश सरकारका श्रम तथा यातायात मन्त्री कौशलकिशोर रायको प्रमुख आतिथ्यतामा जिल्ला सदरमुकाममा पनि राष्ट्रिय सहकारी दिवस मनाइएको हो ।