logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

परीक्षा कोठामा मोवाइल बोक्ने ४ निरीक्षक निष्काशित


  • उज्यालो अभियान

फाइल तस्बीर ।

बयलवास, १२ चैत – माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत सर्लाहीमा आज चार जना परीक्षा निरीक्षक (गार्ड) निष्काशनमा परेका छन् ।

ईश्वरपुर नगरपालिका–६, केशरगंजस्थित नारायण माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एसइई अन्तर्गत आज चौंथो दिन भएको अनिवार्य विज्ञान विषयको परीक्षामा चार जना परीक्षा निरीक्षक निष्काशनमा परेका हुन् । प्रमुख जिल्ला अधिकारी (सिडिओ) तुलसीबहादुर श्रेष्ठ नेतृत्वको टोलीले परीक्षाको अनुुगमनकाक्रममा मोवाइल फोन साथमा रहेको देखेपछि चार जना निरीक्षकलाई तत्काल निष्काशन गरेको शिक्षा विकास तथा समन्वय इकाइ मलङ्गवाका प्राविधिक सहायक सुनिलकुमार कुशवाहाले जानकारी दिए ।

यो पटकको एसइईमा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्षबाहेक अन्यलाई परीक्षा कोठाभित्र मोवाइल फोन लैजान निषेध गरिएको छ । निर्देशनविपरीत नारायण मावि केशरगंजका परीक्षा निरीक्षकले गार्ड बस्दा मोवाइल फोन बोकेको गुनासो आएपछि शिक्षा विकास तथा समन्वय इकाइ मलङ्गवाले यसअघि नै केन्द्राध्यक्षलाई सचेत गराएको थियो ।

आज निष्काशनमा परेका चार जना परीक्षा निरीक्षक बाँकी परीक्षामा पुनः निरीक्षक बस्न नपाउने शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । चैत ७ गतेदेखि सुरु भएको एसइई अन्तर्गत परीक्षार्थीले आजसम्म चारवटा विषयको परीक्षा दिइसकेका छन् ।

परीक्षामा सर्लाहीबाट आज चौंथो दिन ११ हजार १९ जना परीक्षार्थी सहभागी भएका शिक्षा विकास तथा समन्वय इकाइका प्राविधिक सहायक कुशवाहाले बताए । सर्लाहीमा ३८ वटा परीक्षा केन्द्रबाट एसइई सञ्चालन भइरहेको छ ।