हरिवन, २७ फागुन – सर्लाहीमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा विभिन्न राजनीतिक दल निकट विद्यार्थी संघसंगठनले गठवन्धन गरेर आज उम्मेदवारी दिएका छन् ।
लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसमा नेविसंघले एक्लै र अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले संयुक्त प्यानल बनाएर उम्मेदवारी दिएका छन् । सभापतिमा नेविसंघबाट निर्मल अधिकारी तथा संयुक्त प्यानलबाट समिर सिंहको उम्मेदवारी परेको निर्वाचन अधिकृत शिवहरि नेपालले बताए । जनज्योतिमा १ हजार ८४ जना मतदाता छन् ।
चतुुर्भूूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीमा सत्ताधारी दल नेपाली कांग्रेस निकट नेविसंघ र नेकपा एमाले निकट अनेरास्ववियुले गठबन्धन गरेका छन् । नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानलबाट सभापतिमा हिमाल घिमिरेको उम्मेदवारी परेको छ ।
सुखेपोखरीमा यसअघिको निर्वाचनमा बिजयी हाँसिल गरेको नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले पनि नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूसँग गठवन्धन गरेर उम्मेदवारी दिएको छ । अखिलबाट सभापतिमा अन्जिता भुजेलको उम्मेदवारी परेको छ ।
सुखेपोखरीमा ८२८ जना मतदाता रहेका निर्वाचन समिति संयोजक डा. हरिलाल मैनालीले जानकारी दिए ।
सदरमुकाम मलंगवास्थित सर्लाही क्याम्पसमा नेविसंघले एक्लै, अनेरास्ववियुले विभिन्न मधेशवादी दलसँग मिलेर र एउटा समूहगत गरी तीन प्यानलको उम्मेदवारी परेको निर्वाचन अधिकृत कृपानाथ झाले बताए । सर्लाही क्यम्पसमा ३ हजार २४९ जना मतदाता रहेका छन् ।
त्रिभुवन विश्व विद्यालयबाट यसै वर्षदेखि स्ववियु निर्वाचन गराउने मान्यता पाएको कर्मैया आदर्श बहुमुखी क्याम्पस बागमतीमा भने अन्य विद्यार्थी संगठनबाट उम्मेदवारी नपरेपछि अखिल क्रान्तिकारीको प्यानल निर्विरोध निर्वाचित भएको छ । सभापतिमा रेवेन्द्र दाहाल, सचिवमा अविषेक मैनाली, कोषाध्यक्षमा साकार घिमिरेलगायत अन्य सदस्य चयन भएका निर्वाचन समितिले जनाएको छ ।
स्ववियुको निर्वाचन आगामी चैत ५ गते हुने छ । निर्वाचनमा सम्वन्धित क्याम्पसको स्नातक तह (ब्याचलर्स) र स्नातकोत्तर तह (मास्र्टस्) मा अध्ययनरत् विद्यार्थीले मतदान गर्न पाउने छन् ।