logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

दुर्गेश आउँदा ओइरिए दर्शक, एसपीको कमाण्डमा प्रहरी परिचालन


  • उज्यालो अभियान

लालबन्दी, २७ फागुन – दोस्रो लालबन्दी महोत्सवमा अहिलेका चर्चित गायक दुर्गेश थापाको प्रस्तुति हेर्न दर्शकको ओइरो लागेको छ ।

उद्योग वाणिज्य संघ लालबन्दीले लालबन्दी नगरपालिका–९, बस्तीपुरमा रहेको भूदेव खाद्य उद्योग (गोल्छा) परिसरमा आयोजना गरेको महोत्सवमा गएसाँझ गायक थापाले प्रस्तुति दिएका छन् । पछिल्लो समय ‘केटो हेरेको हेरै’ बोलको गीतबाट थप चर्चा बटुलेका थापाको आगमनमा महोत्सवस्थल भरिभराउ हुँदा आयोजकका पदाधिकारी उत्साहित देखिन्थे ।

फागुन २३ गतेदेखि जारी महोत्सवमा गएसाँझ गायक थापाको प्रस्तुति हेर्न हालसम्मकै सबैभन्दा धेरै भीड लागेको आयोजकका पदाधिकारीले उज्यालो अभियानसँग बताए । महोत्सवमा हिजो सात हजार बढी टिकट बिक्री भएको उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष दीपेन्द्रकुमार बलम्पाकीले बताए । उनका अनुसार हिजो अतिथि, आयोजक, सुरक्षाकर्मीसहित करिव १० हजार जनाले महोत्सव अवलोकन गरेको आँकलन गरिएको छ ।

गायक थापा अहिले चर्चामा रहेर प्रत्येक मेला, महोत्सवमा जाँदा अत्यधिक दर्शक आउने गरेकाले सोही कुरालाई ख्याल गरी हिजो महोत्सवस्थलमा व्यापक मात्रामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो । जिल्ला प्रहरी प्रमुख (एसपी) रवीन्द्रबहादुर सिंहकै कमाण्डमा तीन जना इन्स्पेक्टरसहित व्यापक मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ भएका थिए ।

महोत्सवमा निरन्तर सुरक्षा पहरा दिइरहेको र हिजो भीड बढ्ने सक्ने आँकलन गरेर सुरक्षाकर्मीको सङ्ख्या बढाइएको एक सुरक्षा अधिकारीले उज्यालो अभियानसँग बताएका छन् । महोत्सवमा हिजो गायक थापासँगै टीका प्रसाई, सपना रोका, विश्वराम कार्कीलगायतले आफ्नो प्रस्तुति दिएका आयोजकले जनायो ।

आज मंगलबार लोकदोहोरी गायिका मन्जु पौडेलसहित सुनिल पण्डित, किरण भुजेल, बबिता धितालगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

महोत्सवकै अवसरमा मधेशप्रदेश स्तरीय खुल्ला नृत्य प्रतियोगिता आयोजना भइरहेको छ ।

महोत्सव आगामी चैत ४ गतेसम्म संचालन हुने छ ।