logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

दोस्रो लालबन्दी महोत्सव आजबाट


  • उज्यालो अभियान

लालबन्दी, २३ फागुन – सर्लाहीको लालबन्दीमा आजबाट दोस्रो लालबन्दी महोत्सव सुरु हुँदै छ ।

‘आर्थिक समृद्धि र स्वरोजगारको आधार–कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने मूल नारासहित लालबन्दी ९ स्थित हुलास खाद्य उद्योग (गोल्छा) परिसरमा महोत्सव सुरु हुन लागेको हो । महोत्सवको आज दिउँसो मधेश सरकारका उद्योग वाणिज्य तथा पर्यटनमन्त्री सकिल अलि मियाँले उद्घाटन गर्दै छन् ।

त्यसपछि मध्यान्ह लालबन्दी बजार क्षेत्रमा झाँकी तथा र्याली निकाल्ने तयारी रहेको आयोजक उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष दीपेन्द्रकुमार बलम्पाकीले जानकारी दिए । उनका अनुसार महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।

आगामी चैत ४ गतेसम्म संचालन हुने महोत्सवमा प्रमुख आकर्षकका रुपमा दैनिक राष्ट्रिय स्तरका कलाकारको प्रस्तुति रहने छ । आज उद्घाटनका दिन सर्लाही हजरिया निवासी गायक कर्णराज गिरीको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

महोत्सवमा स्थानीय विभिन्न कृषि उत्पादन, औजार, व्यापार व्यवसायलगायतको स्टल रहने छन् । महोत्सव आयोजना गर्दा स्थानीय आर्थिक गतिविधि बढ्ने र व्यापार, व्यवसाय चलायमान हुने अपेक्षा गरिएको उद्योग वाणिज्य संघ लालबन्दीका वरिष्ठ उपाध्यक्ष एवं महोत्सवका संयोजक पूर्णप्रसाद चौलागाईले बताएका छन् ।

महोत्सवको अवलोकन गर्दा आमसर्वसाधारणलाई ८० रुपैयाँ टिकट शुल्क तोकिएको छ ।