लालबन्दी, २२ फागुन – सर्लाहीको लालबन्दी नगरपालिका–११, का एक बालकमा कालाजार देखा परेपछि हिजोदेखि वडाभर विषादी छिट्न सुरु गरिएको छ ।
स्वास्थ्य कार्यालय सर्लाहीसँग समन्वय गरी कालाजार फैलाउने ‘सेन्ट फ्लाई’ नामक भुसुना मार्न विषादी छिट्न सुरु गरिएको आधारभूत स्वास्थ्य सेवा केन्द्र लालबन्दी ११ का इन्चार्ज राजकुमार सिंहले जानकारी दिए । उनका अनुसार लालबन्दी नगरपालिका–११, सेतीभीरका तीन वर्षीय बालकमा कालाजार पुुष्टी भएको छ । ती बालिकलाई परिवारले उपचारका लागि दुुई महिनाअघि पाटन अस्पताल लैजाँदा कालाजार पुुष्टी भएको हो ।
बालकका छरछिमेक तथा वडाभित्र अन्य व्यक्तिमा कालाजार फैलन नदिन भुुसुना मार्नका लागि हिजो बिहानबाट विषादी छिट्न सुरु गरिएको हो । वडाभरका सबै घरमा विषादी छिट्न करिव एक हप्ता लाग्ने लालबन्दी नगरपालिका ११ का वडाध्यक्ष दीपककुमार लामाले बताएका छन् ।
कालाजार फैलाउने भुसुना मार्न प्रयोग हुने ‘अल्फा साइपरमेथ्रिन’ नामक कीटनाशक विषादी, आवश्यक सामग्री र औषधि छिट्न खटिने मानिस स्वास्थ्य कार्यालयले नै उपलब्ध गराएको आधारभूत स्वास्थ्य सेवा केन्द्र लालबन्दी ११ ले जनाएको छ । सर्लाहीमा एक महिनाअघि सीमावर्ती क्षेत्रस्थित पर्सा गाउँपालिका–२, सङ्ग्रामपुरमा समेत एक बालकमा कालाजार पुुष्टी भएको छ । प्रादेशिक अस्पताल जनकपुरले सङ्ग्रामपुरका चार वर्षीय बालकमा कालाजार पुुष्टी गरेको स्वास्थ्य कार्यालय सर्लाहीका भेक्टर कन्ट्रोल फोकल पर्सन मनोज झाले बताए ।
लालबन्दी नगरपालिका–११ मा कीटनाशक औषधि छिट्ने बित्तिकै सोही टोलीलाई पर्सा गाउँपालिका–२, सङ्ग्रामपुरमा खटाइने भेक्टर कन्ट्रोल फोकल पर्सन झाले उज्यालो अभियानसँग बताएका छन् । उनका अनुसार कालाजार गराउने भुसुना सात/आठ फिटभन्दा माथि चढ्न नसक्ने भएकाले कालाजारका बिरामी भेटिएका वडाका प्रत्येक घरको भुुइँ तलामा मात्रै औषधि छिट्ने काम गरिने छ ।
कालाजार पुुष्टी भएका लालबन्दी र सङ्ग्रामपुर दुवै ठाउँका बालकको अवस्था अहिले सामान्य रहेको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ । ज्वरो आउनुु, तौल घट्नुु, थकान महशुस हुनु, रक्तअल्पता हुनु र कलेजो तथा फियोको आकारमा उल्लेख्यरुपमा वृद्धि हुनुु कालाजारको लक्षण रहेको चिकित्सकले बताएका छन् ।