लालबन्दी, १९ फागुन – सर्लाहीका माझी समुदायले आज लदी (कोशी) पूजा पर्व मनाएका छन् ।

जिल्लाभरका माझी समुदाय लालबन्दी नगरपालिका–७, स्थित कृषि विकास बैङ्कको चौरमा भेला भएर आफ्नो महान पर्व लदी पूजा पर्व हर्षोउल्लासपूर्वक मनाएका हुन् । पर्वको अवसरमा लालबन्दी बजारमा माझी समुदायको संस्कार, सँस्कृति झल्कने पोसाकमा उपस्थित भएर र्याली निकालिएको छ । त्यसपश्चात सभाको कार्यक्रम गरी एक आपसमा शुुभकामना आदानप्रदान गर्दै लदी पूजा पर्व मनाइएको आयोजक नेपाल माझी उत्थान सङ्घ सर्लाहीका उपाध्यक्ष एवं कार्यक्रम संचालक राजकुमार कुस्वारले जानकारी दिए ।

नेपाल माझी उत्थान सङ्घ सर्लाहीका अध्यक्ष ललितबहादुर माझी (सुसन) को अध्यक्षता तथा मधेश प्रदेशसभा सदस्य बेची लुुङ्गेलीको प्रमुख आतिथ्यतामा माझी समुदायको महान पर्व लदी पूजा पर्व मनाइएको हो । कार्यक्रममा बरहथवा नगरपालिकाका प्रमुख कल्पनाकुमारी कटुवाल, ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्य, नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष सुरेन्द्र लामा, नेपाल माझी उत्थान सङ्घका केन्द्रीय सदस्य मनिष माझी, सोही सङ्घको मधेश प्रदेश अध्यक्ष गीता माझी, लालबन्दी ८ का वडाध्यक्ष शुुक्र लामा, लालबन्दी १६ वडाध्यक्ष गणेशबहादुर थापालागयतको आतिथ्यता रहेको थियो ।

। उक्त समारोहमा माझी समुदायको भाषा, सँस्कार, सँस्कृतिको जर्गेना गर्न अग्रणी भूमिका निर्वाह गर्ने स्वर्गिय काजिराम कुस्वार (बागमती), स्वर्गिय सीताराम माझी (हजरिया), स्वर्गिय सन्तवीर माझी (बरहथवा), स्वर्गिय लालवीर माझी (जियाजोर), स्वर्गिय ठूलो सुरतलाल माझी (रन्जितपुर) र स्वर्गिय सानो सुुरतलाल माझी (रन्जितपुर) को परिवारलाई सम्मान–पत्रसहित सम्मान गरिएको नेपाल माझी उत्थान सङ्घ सर्लाहीले जनाएको छ ।

यस्तै बरहथवा नगरपालिकाकी पूर्व नगर उपप्रमुख सीतादेवी माझी, बरहथवा नगरपालिकाको कार्यपालिका सदस्य लीला माझी, लालबन्दी नगरपालिकाका पूर्व कार्यपालिका सदस्य सन्तवीर माझी, लालबन्दी १२ का वडा सदस्य श्रीमान माझी, लालबन्दी नगरपालिका ५ का वडा सदस्य चित्रकुमार माझी (कुमार), बागमती नगरपालिका–४, का वडा सदस्य रामवती माझी, माझी समुदायका अुुगवा आशमान माझी (जियाजोर), अनन्तलाल कुस्वार (बागमती), सुरवीर माझी (हरिवन) र वुद्धिमान माझी (परवानीपुर) लाई पनि सम्मान–पत्रसहित सम्मान गरिएको छ ।

कार्यक्रममा माझी समुदायले डुुङ्गा समेत बनाएर प्रदर्शन गरेका थिए । माझी समुदायको लदी पूजा भोली परेको छ । भोली आ–आफ्नो स्थानमा नदी किनारमा गई पूजा गर्ने तयारी रहेको नेपाल माझी उत्थान सङ्घ मधेश प्रदेशकी अध्यक्ष गीता माझीले बताईन् ।

सर्लाहीमा लालबन्दी, ईश्वरपुर, हरिवन, बागमती र बरहथवा नगरपालिकामा माझी समुदायको बसोवास रहेको छ । २०७८ को जनगणना अनुसार सर्लाहीमा नौ हजार ३७३ जना माझी समुदायको जनसङ्ख्या रहेको छ ।