हरिपूर्वा विद्युत् सवस्टेशन । (तस्बीर : उज्यालो अभियान)
हरिपूर्वा, ०९ फागुन – सर्लाहीको हरिपूर्वा नगरपालिकामा निर्माण गरिएको विद्युत् सवस्टेशन बल्ल संचालनमा आएको छ ।
बिहीबारदेखि लोड दिएर सवस्टेशन संचालन गरिएको हो । नेपाल विद्युत् प्राधिकरण मलंगवा वितरण केन्द्रका प्रमुख एवं उप–प्रवन्धक इन्जिनियर उमेशप्रसाद यादवले ३३/११ केभीको हरिपूर्वा सवस्टेशनबाट तत्काल हरिपूर्वा र पर्सा गाउँपालिका क्षेत्रमा मात्र विद्युत् प्रवाह गरिएको जानकारी दिए ।
मलंगवा सवस्टेशनदेखि लामो प्रशारण लाइन भएर बत्ती तान्नुपर्दा बारम्बार विद्युत् कटौति भइरहने, भोल्टेज कम आउनेजस्ता समस्याबाट सर्लाहीको पूर्वी बेल्टका स्थानीय वासिन्दा आजित रहेका थिए । हरिपूर्वा र पर्सा क्षेत्रका स्थानीय लामो समयदेखि हरिपूर्वा सवस्टेशन सञ्चालनको प्रतिक्षामा रहेका थिए ।
हरिपूर्वा नगरपालिका २ मा केही वर्षअघि नै सवस्टेशन निर्माण भएपनि हरिपूर्वा र ईश्वरपुर नगरपालिकाको केही क्षेत्रमा बिजुलीको पोल गाड्ने विषयमा विवाद हुँदा सवस्टेशन नै अलपत्र रहेको थियो । सवस्टेशनमा १६ एमभिएको ट्रान्सफर्मर जडान गरिएको हरिपूर्वा सवस्टेशनमा कार्यरत प्राविधिक मेघाकान्त साहले बताएका छन् ।
ढल्केबरतर्फबाट ल्याइएको ३३ केभी लाइन जोडेर श्रीनगर, वसन्तपुर, हरिपूर्वा हुँदै हरिपूर्वा नगरपालिका २ मा निर्माण भएको सवस्टेशनमा पु¥याइएको छ ।