बागमती, २८ माघ – सर्लाहीको बागमती नगरस्तरीय सातौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि नव जनजागरण माध्यमिक विद्यालयले हात पारेको छ ।
बागमती ११ स्थित स्वर्गिय सन्तोष श्रेष्ठ स्मृति खेल मैदान कर्मैयामा गएसाँझ सम्पन्न ३ दिने प्रतियोगितामा १३ स्वर्णपदकसहित नव जनजागरण मावि शंकरपुरले प्रथम शिल्ड उचालेको हो । यस्तै ११ स्वर्णसहित जनता माध्यमिक विद्यालय सोल्टी दोस्रो र तीन स्वर्णसहित जन बालकल्याण माध्यमिक विद्यालय धरहरा तेस्रो भएका छन् ।
नगरभित्रका २५ वटा सामुदायिक विद्यालयका विद्यार्थीबिच दौड, हाइजम्प, लङ्गजम्प, त्रिपलजम्प, सटपुट, ज्याब्लिङ थ्रो, कबड्डी र भलिबलमा प्रतिस्पर्धा गराइएको बागमती नगरपालिकाको शिक्षा शाखा प्रमुख मीनप्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार यो वर्षबाट प्राथमिक तहका विद्यार्थीलाई समेत राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सामेल गराइएको छ ।
प्रावितर्फ तीन स्वर्ण र दुुई रजत पदकसहित जनकल्याण आधारभूत विद्यालय धरहरा पहिलो, तीन स्वर्ण र एक कास्य पदकसहित जनजागृति प्राथमिक विद्यालय रक्षापुर दोस्रो र तीन स्वर्णपदकसहित गौरीशंकर प्राथमिक विद्यालय पुुष्करगन्ज तेस्रो भएका छन् । बिजेता विद्यालय, सहभागी विद्यार्थी र शिक्षकलाई बागमतीका कार्यवाहक नगरप्रमुख कृष्णकुमार लामा, शिक्षा शाखा प्रमुख उपाध्यायलगायत भएर पुरस्कार वितरण गरेका छन् ।
यस्तै ईश्वरपुरमा हिजोबाट चौंथो नगरस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । वडा नं. ८ स्थित रामपुर खेल मैदानमा सुरु भएको प्रतियोगिताको नगरप्रमुख मनोजकुमार आचार्यले उद्घाटन गरेका छन् ।
भोलीसम्म चल्ने प्रतियोगितामा नगरभित्रका विभिन्न निमावि तथा मावि स्तरका विद्यालयले सहभागिता जनाउने ईश्वरपुर ८ का वडाध्क्ष श्यामबहादुर थापाले बताए । सर्लाहीमा यसअघि लालबन्दी र हरिवन नगरपालिकाले यो वर्षको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न गरिसकेका छन् ।