हरिवन, १६ माघ – तामाङ समुदायको राष्ट्रिय चाड सोनाम ल्होछारको अवसरमा सर्लाहीको हरिवन नगरपालिका–५, घुर्कौलीमा आजबाट प्रथम घुर्कौली बृहत साँस्कृतिक महोत्सव सुरु भएको छ ।
मन्जुश्री सम्वत् २८६१ डुल÷सा पुख्री ल्हो सोनाम ल्होछारको अवसरमा साँँस्कृतिक महोत्सव आयोजना गरिएको हो । महोत्सवको आज दिउँसो सर्लाही क्षेत्र नं. १ (ख) की प्रदेशसभा सदस्य एवं पूर्व प्रदेश मन्त्री बेची लुंगेलीले उद्घाटन गरेका छन् ।
आयोजक समितिका अध्यक्ष सिंहलाल योन्जनको अध्यक्षतामा आयोजित साँस्कृतिक महोत्सवको उद्घाटन समारोहमा हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल), उपप्रमुख हरिमाया घलान, नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष सुरेन्द्र लामा, सो पार्टीको केन्द्रीय सदस्य आरती लामा, नेपाल तामाङ घेदुङ सर्लाहीका अध्यक्ष वुद्ध लामा, विभिन्न वडाका वडाध्यक्षलगायतको आतिथ्यता रहेको थियो ।
साँस्कृतिक महोत्सव पर्सीसम्म चल्ने छ । महोत्सवमा विभिन्न तामाङ राष्ट्रिय तथा स्थानीय कलाकारले प्रस्तुति दिने छन् ।
राजु लो तामाङले संचालन गरेको महोत्सवको उद्घाटन समारोहमा तामाङ मुदायको भेषभुषासहितको झाँकीसहित साँस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ ।