लालबन्दी, १५ माघ – पाठेघरको मुखको क्यान्सरविरुद्ध सर्लाहीको लालबन्दी नगरपालिकाभित्र ४ हजार ६ सय किशोरीलाई एचपीभी खोप लगाइने भएको छ ।
एचपीभी खोप अभियान सम्वन्धी आज लालबन्दीस्थित पुरानो नगरपालिका कार्यालयको सभा हलमा आयोजित नगर स्तरीय खोप समन्वय समिति तथा संचारकर्मीलाई अभिमुखीकरण कार्यक्रममा लालबन्दी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक मुुमताज मिकरानीले नगरका १७ वटा वडाभित्र ४ हजार ६ सय ६० जना किशोरीलाई एचपीभी खोप लगाउने लक्ष्य रहेको जानकारी दिए ।
सरकारले विद्यालयमा पढ्ने कक्षा ६ देखि १० सम्मका छात्रा तथा विद्यालय बाहिरका १० देखि १४ वर्षसम्मका किशोरीलाई पाठेघरको मुखको क्यान्सर हुनबाट रोक्न एचपीभी खोप लगाउँदै छ । लालबन्दी नगरपालिकामा माघ २३ गतेदेखि २९ गतेसम्म पहिलो चरणको खोप कार्यक्रम संचालन हुने स्वास्थ्य शाखा संयोजक मिकरानीले बताए । उनका अनुसार कक्षा ६ देखि १० सम्म पठनपाठन हुने प्रत्येक विद्यालयमा स्वास्थ्यकर्मी पुुगेर छात्राहरुलाई खोप लगाउने छन् ।
एचपीभी खोप अभियान र खोपको महत्वबारे जनस्वास्थ्य निरीक्षक राजकुमार सिंह र रोशन चौधरीले अभिमुखीकरणमा सहभागीलाई प्रष्ट पारेका थिए । उनीहरुले ढुुक्क भएर एचपीभी खोप लगाउन आग्रह समेत गरेका छन् ।
लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारीले एचपीभी खोप अभियानलाई सफल बनाउन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरे । अभिमुुखीकरणमा विभिन्न वडाका वडाध्यक्ष, स्वास्थ्य चौकीका इन्चार्ज, नगरपालिकाको विभिन्न शाखाका प्रमुख तथा कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।