मलंगवा, ०९ माघ – सर्लाहीका मुर्तिकारलाई यतिबेला विद्याकी देवी सरस्वतीको प्रतिमा बनाउन भ्याइनभ्याइ परेको छ ।
आगामी माघ २१ गते हुने सरस्वती पूजा (वसन्त पञ्चमी) को दिन नजिकिँदै जाँदा विगतका वर्षमा झैँ कालिगढ सरस्वतीको मुर्ती बनाउन ब्यस्त देखिन्छन् । जिल्लाका विभिन्न स्थानमा पुसदेखि नै सरस्वतीको प्रतिमा बनाउने काम धमाधम चलिरहेको छ ।
मलङ्गवा नगरपालिका–४, का रामइश्वर पण्डितले विभिन्न विद्यालयबाट अर्डर आएकाले काठ, पराल र माटोबाट धमाधम मुर्ती तयार पारिरहेको जानकारी दिए । सरस्वती पूजासहित विश्वकर्मा पूजा, दुुर्गा पूजालगायतका अन्य विभिन्न खाले पूजा महोत्सवमा चाहिने सबैखाले मुर्ती तयार पारेर बेच्ने गरेको रामइश्वरले बताए ।
उहाँका अनुसार आकार अनुसार मुुर्तीको मुुल्य तीन हजार रुपियाँदेखि माथि पर्छ । यो समयमा मुर्तिकारले आफ्ना स–साना बालबालिकाको समेत सहायता लिएर मुर्ती तयार पार्ने गरेका छन् ।
जिल्लाका विभिन्न ठाउँमा रहेका क्याम्पस, विद्यालय र शैक्षिक प्रतिष्ठानमा सरस्वतीको मूर्ति राखेर सरस्वती पूजाआराधना गर्ने चलन छ । त्यसलाई लक्षित गरी यहाँका मूर्तिकार माटोका कलात्मक मूर्ति बनाउन व्यस्त छन् ।
तीनदेखि पाँच दिनमा एउटा प्रतिमा बनाउन समय लाग्ने र १० हजार रुपियाँसम्ममा बिक्री हुने मुर्तिकार बताउँछन् । त्यसरी तयार पारिएको मुर्ती लिन शैक्षिक संस्थाका शिक्षक, विद्यार्थी मुर्तिकारको घर–घरमै पुुग्ने गरेका छन्